एमाले बागमती प्रदेशको मतदान अनिश्चित

बकैया दर्पण संवाददाता
११ आश्विन २०८०, बिहीबार १३:०२

मकवानपुर ।नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि हुने भनिएको मतदान अनिश्चित बनेको छ।

बुधबार साँझ नै उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्ने भने पनि अहिलेसम्म सार्वजनिक नहुँदा मतदान सुरु हुन नसकेको हो । केन्द्रीय नेतृत्वले सर्वसम्मत रूपमा प्रदेश नेतृत्व चयन गर्ने प्रयास गरे पनि सफल सहमति नजुटेपछि निर्वाचन गर्ने निर्णय भएको थियो ।

नेतृत्व चयनको लागि आज बिहान ८ बजेबाट मतदान सुरु गर्ने भनिए पनि १ बजेके लागि तय भएको थियो। तर,आन्तरिक तयारी नपुगेको भन्दै मतदान ४ बजेलाई सरेको छ । एमालेको निर्वाचन अधिकृत सानुराम पोखरेलले बिहीबार ४ बजेबाट पनि मतदानको समय सर्न सक्ने जानकारी दिए ।

‘मतदान ४ बजेबाट उता पनि सर्नसक्छ तर,आजै मतदान र परिणाम भने रातभरिमा आइसक्छ’,उनले भने । उनका अनुसार ५ पदाधिकारीसहित २४० सदस्यीय कमिटीका लागि ५०० भन्दा बढीको उम्मेदवारी दर्ता भएको छ ।

त्यसपछि विद्युतीय भोटिङ मेशिनमार्फत् मतदान गर्ने तयारी भएकाले उम्मेदवारको नाम मेसिनमा ‘इन्ट्री’ गर्न केही समय लाग्नेछ। अध्यक्षमा पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, कैलाशप्रसाद ढुंगेल, सानुकुमार श्रेष्ठ र केशवराज पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् ।

उपाध्यक्षमा सुभाषचन्द्र ठकुरी, नारायण प्रसाद खतिवडा, दावा दोर्जे लामा, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाको उम्मेदवारी परेको छ। सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्तबहादुर पण्डित र डाक्टर रामकुमार अधिकारीले उम्मेदवारी दिएका छन् । दुई उपसचिवका लागि १२ जनाको उम्मेदवारी परेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*