बकैया गाउँपालिकामा अनौपचारिक श्रमिकलाई सामाजिक सुरक्षामा जोड्ने पहल, ४० लाख बजेट विनियोजन

बकैया दर्पण संवाददाता
२३ चैत्र २०८२, सोमबार ०५:१४

बकैया : मकवानपुरको बकैया गाउँपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिहरूलाई सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध गराउने भएको छ। गाउँपालिकाले आफ्ना कर्मचारीसँगै अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई समेत योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समेट्ने तयारी गरेको हो।


गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ भित्रै कार्यक्रम कार्यान्वयनमा ल्याउने लक्ष्यसहित आवश्यक बजेट विनियोजन गरिएको छ। यस कार्यक्रमअन्तर्गत अस्थायी तथा करारमा कार्यरत कर्मचारीसँगै स्वरोजगार र अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याइनेछ।


रोजगार संयोजक रामचन्द्र खड्काका अनुसार यसका लागि चालु आर्थिक वर्षमा ४० लाख रुपैयाँ छुट्याइएको छ। हाल पालिकामा कार्यरत १०३ अस्थायी तथा करार कर्मचारीलाई कार्यक्रममा आवद्ध गराउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।


योजना अनुसार कर्मचारीले ११ प्रतिशत योगदान गर्नेछन् भने गाउँपालिकाले २० प्रतिशत योगदान व्यहोर्नेछ। साथै, अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगार व्यक्तिहरूलाई कार्यक्रममा सहभागी हुन सार्वजनिक आह्वान समेत गरिएको छ।

यो कार्यक्रम कार्यान्वयन गर्ने बकैया गाउँपालिका मकवानपुर जिल्लाकै तेस्रो पालिका बन्ने भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*