एमालेभित्र ओलीको चुनौती बढ्यो, भण्डारी–पोखरेल प्यानल बलियो बन्दै

बकैया दर्पण संवाददाता
९ मंसिर २०८२, सोमबार ११:२०

मकवानपुर (बकैया) – नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पुनः शक्ति केन्द्रमा फर्किन प्रयासरत रहे पनि पार्टीभित्र उनको चुनौती दिनप्रतिदिन बढ्दै गएको देखिन्छ। बालुवाटारमा प्रभाव पुनःस्थापित गर्ने लक्ष्यका साथ सक्रिय भए पनि पछिल्ला गतिविधिले ओलीको नेतृत्व नै संकटतर्फ धकेलिएको विश्लेषकहरूको मूल्यांकन छ।

हालै सम्पन्न पार्टी सचिवालय बैठकमा ओली अल्पमतमा परेपछि उनको रणनीति कमजोर देखिएको छ। ओलीले विधान संशोधनदेखि संभावित प्रतिस्पर्धीलाई निष्क्रिय पार्ने प्रयास गरे पनि ती चालहरूले अपेक्षित परिणाम नदिएको एमालेभित्र टिप्पणी छ।
यसबीच, पूर्वराष्ट्रपति विद्या भण्डारी र वरिष्ठ नेता ईश्वर पोखरेलको नेतृत्वमा तयार भएको प्यानलले पार्टीभित्र प्रभाव बढाउँदै लगेपछि ओलीको अध्यक्षता नै चुनौतीमा परेको राजनीतिक विश्लेषकहरूको दाबी छ।

भण्डारी–पोखरेल समूहले वैकल्पिक नेतृत्वको तयारी तीव्र पारेको, विभिन्न नेता–कार्यकर्तालाई आफ्नो पाटोमा संगठित रूपमा उभ्याएको र महाधिवेशनलाई लक्षित गर्दै बलियो संरचना बनाइरहेको स्रोतहरूले जनाएका छन्। यसले ओलीको परम्परागत शक्ति आधार कमजोर भएको संकेत गर्दछ।

विश्लेषकहरूका अनुसार, आगामी महाधिवेशन ओलीका लागि निर्णायक मोड बन्नेछ। महाधिवेशनमा पराजय भए ओली पार्टीभित्रै पछाडि धकेलिने, निर्णय प्रक्रियामा उनको भूमिका सिमित हुने र दीर्घकालीन रूपमा नेतृत्व परिवर्तनको बाटो खुलेको रुपमा व्याख्या गरिएको छ।

एमालेभित्र वर्तमान शक्ति–सन्तुलन, समूहगत किचलो र वैकल्पिक नेतृत्वको उदयसँगै पार्टी आन्तरिक रूपमा तातेको देखिन्छ। राजनीतिक परिवेशमा अहिले एमाले महाधिवेशन र त्यसले तय गर्ने नेतृत्व नै सबैको चासोको विषय बनेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*