ओभरटेक गर्ने क्रममा सुमो र भारतीय स्कारपियो ठोक्किँदा दुर्घटना, ९ जना घाइते

बकैया दर्पण संवाददाता
५ बैशाख २०८३, शनिबार २१:०५

मकवानपुर – मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतस्थित हेटौंडा–भिमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्।

शनिबार साँझ करिब ६:१० बजेको समयमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना.३च ६०५२ नम्बरको सुमोलाई सोही दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेट BR22AZ 2517 को स्कारपियोले ओभरटेक गर्ने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि दुवै सवारी साधन सडकमा पल्टिएका थिए। घटनालगत्तै इलाका प्रहरी कार्यालय भिमफेदीबाट प्रहरी निरीक्षक बिकु नारायण कासिछुवाको कमाण्डमा टोली खटिएको थियो। साथै सशस्त्र प्रहरी बलको टोली समेत उद्धारमा खटिएको थियो।

दुर्घटनामा सुमो चालक महाबुव आलम मन्सुरी र सवार न्युटन बहादुर क्षेत्रीसहित स्कारपियोमा सवार चालक सरुप पटेल, गौरब कुमार सराफ, रिसब कुमार सराफ, रेश्मी देवी सराफ, शिला देवी सराफ, रबी कुमार सराफ र नन्दनी कुमारी सराफ घाइते भएका छन्। घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ भने नन्दनी कुमारी सराफको अवस्था मध्यम रहेको छ।

घाइते सबैलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ। दुर्घटनापछि सडक अवरुद्ध नभएको र दुवै सवारी साधन घटनास्थलमै रहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले दुर्घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*