लागुऔषध ट्रामाडोल ८३०० क्याप्सुलसहित ५ जना पक्राउ
मकवानपुर — हेटौंडा उपमहानगरपालिका–५ सानोपोखरामा लागूऔषध कारोबारमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
मकवानपुर प्रहरीले प्राप्त सूचनाका आधारमा गएको टोलीले शुक्रबार (मिति २०८२ साल कार्तिक २७ गते) बिहान करिब १०:०० बजे सानोपोखरामा छापा मार्दा ट्रामाडोल नामक प्रतिबन्धित औषधि ८,३०० क्याप्सुल फेला पारेको हो।
पक्राउ पर्नेमा बकैया गाउँपालिका–१२ का १९ वर्षीय अशोक स्याङ्तान, हेटौंडा–१७ का २० वर्षीय प्रवेश बरैली, हेटौंडा–४ का २० वर्षीय निशान कोईराला, हेटौंडा–२२ का ३५ वर्षीय राजिब लामा (बक्सर) र मकवानपुरगढी गाउँपालिका–२ का २३ वर्षीय दिपेश संजेल रहेका छन्।
प्रहरीका अनुसार उनीहरू बसिरहेको स्थान नजिकै खाली जग्गामा बिक्री वितरणका लागि लुकाइ राखिएको ट्रामाडोल क्याप्सुल बरामद गरिएको हो। साथै, ना.३२ प ३२४४ र बा.प्रदेश ००५ प १८५ नम्बरका दुईवटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेकामाथि जिल्ला अदालत मकवानपुरबाट म्याद थप अनुमति लिई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
