प्रथम “घले गोल्ड कप” फुटबल प्रतियोगिता आयोजना हुँदै
मकवानपुर बकैया – मकवानपुरको बकैया गाउँपालिका–१२, ठिंगनमा रहेको लि:ल फङ युवा क्लबले पहिलो पटक “प्रथम घले गोल्ड कप (खुल्ला पुरुष 7-A-Side) फुटबल प्रतियोगिता–२०८३” आयोजना गर्ने भएको छ।


प्रकृतिको अनुपम वातावरण र श्री लटरम्बेस्वर महादेवको पवित्र भूमिमा सञ्चालन हुने उक्त प्रतियोगिताले खेलकुदमार्फत युवाहरूमा एकता, अनुशासन र आपसी सद्भाव बढाउने उद्देश्य लिएको क्लबले जनाएको छ। प्रतियोगितामा विभिन्न स्थानका टोलीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रतियोगिता २०८३ वैशाख २० गतेदेखि सुरु हुने छ भने खेल बिहान १० बजेदेखि सञ्चालन गरिनेछ। खेलस्थल गणेश डाँडा खेल मैदान, बकैया–१२, ठिंगन तोकिएको छ।प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु. १,००,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टोलीलाई नगद रु. ५०,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै उत्कृष्ट खेलाडीहरूलाई विधागत पुरस्कारसमेत दिइने आयोजकले जनाएको छ।

दर्ता शुल्क प्रति टोली रु. ७,००० र धरौटी रकम रु. ३,००० तोकिएको छ। दर्ताको अन्तिम मिति वैशाख १८ गते बेलुका ५ बजेसम्म रहेको छ भने खेल तालिका वैशाख १९ गते सार्वजनिक गरिनेछ।खेल फिफा नियमअनुसार नकआउट प्रणालीमा सञ्चालन हुने जनाइएको छ। प्रत्येक टोलीमा १३ जना खेलाडी रहने व्यवस्था गरिएको छ। प्रतियोगितासम्बन्धी थप जानकारीका लागि आयोजक समितिका पदाधिकारीहरूसँग सम्पर्क गर्न सकिनेछ।
क्लबका अध्यक्ष किरण घलेका अनुसार प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
