मुख्यमन्त्री बानियाँको भनाइ — “संघीय लोकतान्त्रिक गणतन्त्र नै उत्तम व्यवस्था”
बकैया (मकवानपुर ) – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नेपालका लागि सबैभन्दा उत्तम शासन व्यवस्था भएको बताएका छन्। बागमती प्रदेश सरकारले आइतबार आयोजना गरेको “संघीय लोकतान्त्रिक गणतन्त्र: चुनौती र अवसर” विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले गणतन्त्रले प्रत्येक नागरिकलाई समान अवसर प्रदान गर्ने व्यवस्था गरेको उल्लेख गरे।
मुख्यमन्त्री बानियाँका अनुसार गणतन्त्र आएपछि गरिब परिवारका छोराछोरीसम्म पनि राष्ट्रको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ।
उनले भने, “व्यक्ति बदल्न पाइने, दल बदल्न पाइने, मन लागेको पार्टी वा उम्मेदवारलाई भोट हाल्न पाइने योभन्दा सुन्दर व्यवस्था संसारमै छैन।”
यसैगरी, उनले नेपालले अपनाएको संविधान समावेशी, समानुपातिक र सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने किसिमले तयार गरिएको बताए। उनका अनुसार यही व्यवस्थाले देशलाई स्थिरता, समानता र दीगो विकासतर्फ लैजाने विश्वास दिलाउँछ।
