एमालेको मंसिर ५ र ६ को शक्ति प्रदर्शनले सरकार नै ढाल्न सक्ने महेश बस्नेतको दाबी
मकवानपुर – नेकपा एमालेका नेता महेश बस्नेतले आगामी मंसिर ५ र ६ गते काठमाडौंमा हुने एमाले तथा यसको भ्रातृ सङ्गठनहरूको शक्ति प्रदर्शनले वर्तमान सरकार नै ढाल्न सक्ने दाबी गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले मंसिर ५ गते नेसनल भोलिन्टियर फोर्सले माइतीघरमा गर्ने प्रदर्शन र मंसिर ६ गते भृकुटीमण्डपमा हुने उपत्यका–स्तरिय ठूलो सभाले सरकार परिवर्तनको वातावरण निर्माण हुन सक्ने चेतावनी दिएका हुन्।
एमालेको जनसंगठन संयोजक संयन्त्रले आयोजना गर्ने उक्त कार्यक्रमका लागि पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। प्रदर्शनमा सहभागी कार्यकर्ता तथा स्वयंसेवकहरूलाई बिहान ११ बजे बबरमहल बसस्टप नजिकै भेला हुन निर्देशन गरिएको छ।
त्यहाँबाट सुरु हुने मार्च पास माइतीघर मण्डला हुँदै नयाँ बानेश्वरसम्म पुग्ने र कार्की ब्याङ्क्वेटमा पुगेर सभामा परिणत हुने बताइएको छ।
