विश्व भेटेरिनरी दिवसमा बकैया गाउँपालिकाको अभियान : निःशुल्क औषधि वितरण र रेबिज विरुद्ध खोप

बकैया दर्पण संवाददाता
१० बैशाख २०८३, बिहीबार १९:१२

बकैया : विश्व भेटेरिनरी दिवस २०२६ को अवसर पारेर मकवानपुरको बकैया गाउँपालिकाले पशु तथा जनस्वास्थ्यलाई लक्षित गर्दै विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। “भेटेरिनरी चिकित्सकहरू: खाद्य र स्वास्थ्यका संरक्षक” भन्ने नारासहित वैशाख ११ गते आयोजना हुने कार्यक्रममा निःशुल्क औषधि वितरण तथा घरपालुवा र सामुदायिक कुकुरहरूमा रेबिज विरुद्ध खोप अभियान सञ्चालन गरिनेछ।

गाउँपालिकाको आर्थिक विकास सेवा (पशु शाखा) को आयोजनामा हुने उक्त कार्यक्रममा गाई, भैँसी, बाख्रा लगायतका पशुहरूको निःशुल्क स्वास्थ्य परीक्षण, उपचार तथा आवश्यक औषधि वितरण गरिनेछ। साथै, कुकुरको टोकाइबाट सर्ने घातक रोग रेबिज नियन्त्रणका लागि निःशुल्क खोप कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ।

कार्यक्रमबारे जानकारी दिँदै डा. अभिनास ठाकुरले पशु स्वास्थ्य सुरक्षित हुनु भनेको मानव स्वास्थ्य सुरक्षित हुनु पनि भएको उल्लेख गरे। उनले समयमै खोप तथा उपचार सेवा लिन स्थानीय कृषक तथा पशुपालकहरूलाई आग्रह गर्दै यस्ता अभियानले रेबिज जस्ता जोखिमयुक्त रोग नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

गाउँपालिकाले सबै सरोकारवाला तथा स्थानीयवासीलाई कार्यक्रममा सहभागी भई सेवा लिन अनुरोध गरेको छ। यस किसिमका कार्यक्रमहरूले पशुपालन व्यवसायलाई थप व्यवस्थित बनाउनुका साथै समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने विश्वास गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*