अहिलेकै अवस्था रहे पाँच वर्षपछि चिकित्सक र नर्स पाइँदैनः स्वास्थ्यमन्त्री

बकैया दर्पण संवाददाता
२६ भाद्र २०८०, मंगलवार १४:३३

मकवानपुर । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकार चिकित्सा शिक्षा ऐन संशोधन गर्ने तयारीमा रहेको बताएका छन् ।

मंगलबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन हुन नसक्दा चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मी उत्पादन हुन नसकेको बताए । उनले यस्तै अवस्था रहे नेपालमा पाँच वर्षपछि नर्स र चिकित्सक पाउनसमेत कठिन हुने बताए ।

अस्पतालहरुको बेथिति सुधार गर्ने कुरामा आफूले कसैसँग पनि सम्झौता नगर्ने उनले स्पष्ट पारे । अस्पतालहरुमा अहिले पनि २२ वर्षअघिको कर्मचारी दरबन्दी रहेको भन्दै उनले जनताको सेवाका लागि दरबन्दी थप गरिने उल्लेख गरे । दरबन्दी थप गर्ने विषयमा अर्थ मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयले परिपत्र गरिसकेको उनको भनाइ छ ।

मन्त्री बस्नेतले आफू अहिले निःशुल्क स्वास्थ्य उपचारको अभियानमा रहेको बताउँदै पैसाको अभावमा उपचार नपाएर कुनै बिरामी मर्न नहुने बताए । फरक प्रसंगमा बोल्दै उनले भरतपुर अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्न आफू सकारात्मक रहेको बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*