बागमती गोलकप : त्रिभुवन आर्मी क्लब काठमाडौं र नवजनजागृति क्लब बारा भिड्दै

बकैया दर्पण संवाददाता
१८ बैशाख २०८३, शुक्रबार ०६:३८

बागमती – मकवानपुरको बागमती गाउँपालिकामा आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ। उद्घाटन खेलमा आयोजकमाथि प्रभावशाली जित निकाल्दै सर्लाहीको बागमती युथ क्लबले प्रतियोगितामा सशक्त सुरुवात गरेको छ।

बागमती गाउँपालिका– ४ स्थित सहिद स्मृति रंगशालामा भएको खेलमा बागमती युथ क्लबले आयोजक बागमती खेलकुद विकास समितिलाई ३–० गोल अन्तरले हराएको हो। खेलको ३१औँ मिनेटमा सुजन गुरुङले टोलीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा १–० ले अग्रता बनाएको बागमती युथले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो। बागमती युथले आक्रामक खेल प्रस्तुत गर्ने क्रममा ६८औँ मिनेटमा राजु लो र ७१औँ मिनेटमा अनिष महर्जनले थप गोल गर्दै जित सुनिश्चित गरे।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुजन गुरुङ ‘प्लेयर अफ दी म्याच’ घोषित भए। उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। बागमती युथ क्लबले अब सेमिफाइनल प्रवेशका लागि साबिक विजेता चर्च ब्वाइज युनाइटेड, ललितपुरसँग प्रतिस्पर्धा गर्नेछ। चर्च ब्वाइज समूह ‘ए’बाट बाई पाएर क्वार्टरफाइनलमा पुगिसकेको छ।

प्रतियोगिताअन्तर्गत आज शुक्रबार त्रिभुवन आर्मी क्लब काठमाडौं र नवजनजागृति क्लब बारा भिड्ने छन्। यस्तै, १९ गते एपिएफ क्लब र चित्लाङ एफसी, २१ गते फ्रेन्ड्स क्लब ललितपुर र प्लानिङ ब्वाइज युनाइटेडबिच प्रतिस्पर्धा हुनेछ। यस्तै, २२ गते मछिन्द्र क्लब काठमाडौंले एपिएफ र चित्लाङबिचको विजेतासँग खेल्नेछ।

प्रतियोगिताको सेमिफाइनल खेल २३ र २४ गते हुनेछन् भने फाइनल वैशाख २६ गते हुनेछ। आयोजकसहित १० टिम सहभागी प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

खेलअघि प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी, एन्फा केन्द्रीय सदस्य टीकाराम लामालगायतको उपस्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*