सक्रिय कृषि उत्पादक सहकारी द्वारा २ किलोमिटर सडकखण्डमा व्यापक सरसफाई अभियान
मकवानपुर,बकैया – सक्रिय कृषि उत्पादक सहकारी लि. बकैया–९ च्याउच्याउ–दमारले शनिबार व्यापक सरसफाई अभियान सम्पन्न गरेको छ। सिरसिरेदेखि च्याउच्याउ जेनेसम्मको करिब २ किलोमिटर सडकखण्डमा सडक वरपरको झाडी हटाउने, वर्षायाममा थुप्रिएको पहिरो फाल्ने तथा बाटो छेउछाउको वातावरण सफा गर्ने काम गरिएको सहकारीले जनाएको छ।
स्थानीय स्तरोन्मुख विकास र सामुदायिक सहयोगलाई प्राथमिकता दिँदै सहकारीले सञ्चालन गरेको यो अभियानमा २३१ जना सेयर सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागी सदस्यहरूले झाडी कटान, सरसफाई, पहिरो व्यवस्थापन तथा सडकका अवरुद्ध भाग खुलाउने कार्यमा सामूहिक सहयोग गरेका थिए।

सडक पहुँच सुधार र स्थानीय विकासका लागि सहकारीको भूमिकालाई विशेष रूपमा चिनाउने यस अभियानले ग्रामीण यातायात प्रणाली सहज बनाउनेमा मद्दत गर्ने सहकारीले विश्वास लिएको छ। सरसफाई अभियानपछि बोल्दै सहकारीका अध्यक्ष प्रकाश लामा घलानले वातावरणीय स्वच्छता, सडक सुरक्षा र समुदायबीच सहकार्यका लागि यस्ता कार्यक्रम अत्यावश्यक रहेको बताए।
“हाम्रो सहकारी केवल आर्थिक कारोबारमै सीमित छैन। समुदायको विकास, वातावरण संरक्षण र स्थानीय पूर्वाधार सुधारमा पनि निरन्तर योगदान गर्दै आएको छ,” अध्यक्ष घलानले भने, “आगामी दिनमा पनि सडक मर्मत, सरसफाई तथा सामाजिक सेवामूलक गतिविधिहरू नियमित रूपमा गर्दै जानेछौँ।”
सक्रिय कृषि उत्पादक सहकारी प्रालीले स्थानीय उत्पादन, सहकारी सशक्तिकरण र सामुदायिक विकासका विविध कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ। सहकारीले यसअघि पनि विभिन्न सामाजिक कार्यमा अग्रसर हुँदै आएको छ भने आगामी दिनमा अझ थप प्रभावकारी कार्यक्रम ल्याउने तयारी गरेको जनाएको छ।
