सुदूरपश्चिमको राजधानीबारे मुख्यमन्त्रीको विवादास्पद भनाइ, गोदावरीको विकल्पमा छलफल गर्ने

बकैया दर्पण संवाददाता
२० भाद्र २०८०, बुधबार १६:१३

मकवानपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको राजधानी र नामकरणको विकल्पमा छलफल गर्ने बताएका छन् ।

डडेल्धुरा बहुमुखी क्याम्पसको २८औं वार्षिक उत्सव कार्यक्रमका लागि डडेल्धुरा पुगेका मुख्यमन्त्री शाहले सो कुरा बताएका हुन् ।

‘अहिलेका लागि प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा तोकिएको छ । उक्त क्षेत्रमा वनको विवाद भएकाले संरचना निर्माण गर्न सकिएको छैन ’, प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने ।

राजधानीको विषयमा सर्वपक्षीय छलफल र संघीय सरकारसँग परामर्श गर्नुपर्ने आवश्यकता रहेको बताउँदै शाहले अबको केही समयमै सुदूरपश्चिम प्रदेशले स्थायी राजधानी पाउने दाबीसमेत गरेका छन् । मुख्यमन्त्री शाहले आवश्यक भएमा प्रदेशको नाम पनि परिवर्तन गर्न सकिने विषय भएको बताए ।

उनले थपे ‘तर यसबारे अहिले नै प्रदेशसभामा कुरा उठिसकेको छैन ।’

मुख्यमन्त्री शाहले प्रदेश सरकारको आर्थिक वर्ष ८०/०८१ को बजेटको पनि बचाउ गरे ।

‘केही माननीयज्यूहरू प्रदेश सरकारको बजेट आकार घट्यो भनिरहनुभएको छ’ शाहले भने ‘तर त्यसो नभई वैदेशिक लगानी, आन्तरिक आय एकदमै न्यून भएको र प्रदेशको बजेट आर्थिक मन्दीका कारण गत आर्थिक वर्षको तुलनामा थोरै मात्र कम भएको हो ।’

२०७९ साल वैशाख २७ गते गृहजिल्ला डडेल्धुराको आमसभामा तत्कालीन प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले राजधानी डडेल्धुरा बनाउन सकिने भनेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*