साना तथा घरेलु उद्यमीको संरक्षण गर्नु सरकारको कर्तव्यः मन्त्री रिजाल

बकैया दर्पण संवाददाता
२० भाद्र २०८०, बुधबार १५:१०

मकवानपुर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साना तथा घरेलु उद्यमीहरुको संरक्षण गर्नु सरकारको पहिलो कर्तव्य भएको बताउनुभएको छ ।

बुधबारदेखि ५ दिनका लागि ललितपुरमा सुरु भएको महिला उद्यमी मेला–२०८० उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री रिजालले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको लागि महिला र पुरुष दुवै उद्यमीहरुको खाँचो रहेको बताउनुभयो ।

मन्त्री रिजालले उद्यमीहरुको योगदान बिना मुलुक समृद्ध हुन नसक्ने बताउनुभयो । उहाँले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीच समन्वय र सहकार्य हुन जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले नेपाल सरकारले साना तथा मझौला व्यवसायीलाई प्रवद्र्धन गर्ने उदेश्यले रोजगारी र सीपमुलक तालिमहरु प्रदान गर्दै आएको बताउनुभयो ।

मन्त्री रिजालले कृषि तथा वनपैदावर स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरुलाई सहयोग गरिरहेको उल्लेख गर्नुभयो । उहाँले लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुलाई स्थानीय तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच पुर्‍याउनको लागि विभिन्न व्यापार मेलामा उद्यमीहरुलाई सहभागिता गराउने कार्य गर्दै आएको दाबी गर्नुभयो ।

मन्त्री रिजालले साना तथा मझौला उद्यमीहरुलाई प्रवद्र्धन गर्नको लागि नीतिगत सुधार, स्वदेशी वस्तुहरुको प्रवद्र्धन, बजारीकरण र व्यवसायिक सहज वातावरण बनाउन सरकारले कार्ययोजना बनाइरहेको जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*