एमाले लुम्बिनी अधिवेशनः ओलीको निर्देशन विपरीत चुनावी तयारी, कंडेल र रिजालबीच प्रतिस्पर्धा

बकैया दर्पण संवाददाता
१७ भाद्र २०८०, आईतवार १६:२९

मकवानपुर । नेकपा एमालेको बुटवलमा जारी लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन विपरीत आकांक्षीहरूले निर्वाचनको तयारी गरेका छन् । दुवै समूहमा रहेका नेताहरूले सहमतिको सम्भावना क्षीण भएको दावी गर्दै चुनावी तयारीमा लागेका हुन् ।

अध्यक्ष पदमा पाल्पाका राधाकृष्ण कंडेल र प्यूठानका हरि रिजाल दावेदार छन् । कंडेल एक वर्षअघि गठन भएको प्रदेश कमिटीका अध्यक्ष हुन् भने रिजाल पुर्व प्रदेश मन्त्री एवं पार्टी केन्द्रीय सदस्य हुन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन समारोह र आज बिहान बन्द सत्रमा सम्बोधन गर्दै सहमतिबाट नेतृत्व चयन गर्न आग्रह गरेपनि सहमतिमा नेतृत्व चयनको सम्भावना करिब करिब टरेको नेताहरुको भनाई छ ।

रिजाललाई पार्टी महासचिव शंकर पोखरेल निकटका नेताहरु प्रदेश सांसदहरु चेतनारायण आचार्य,भूमिश्वर ढकाल,शिवराज सुवेदी लगायतले अध्यक्षमा अघि सारेका छन् । कंडेलले एक वर्ष मात्र तदर्थ समितिमा काम गरेकाले एक कार्यकाल काम गर्न पाउनुपर्ने अडान राखेका छन् । उनले आफ्नो कुनै गुट नभएको बताउंदै आएका छन् ।

दुवैले अडान नछाडेपछि निर्वाचनमा जाने करिब निश्चित भएपनि नेताहरू सहमतिको लागि प्रयासमा लागिरहेका छन् । केन्द्रीय सदस्य भूमिश्वर ढकालले सहमतिमा जाने संभावना कम भएकाले निर्वाचन हुनसक्ने संभावना बढेको बताए ।

अहिले जिल्लागत रूपमा प्रदेश कमिटीमा जाने सदस्य टुंगो लगाउन सबै जिल्लाबाट छानिएका प्रतिनिधिहरू १२ वटा समूहमा अलग अलग बसेका छन् । केही जिल्लाले सहमतिमा प्रदेश कमिटी सदस्य टुंगोमा पुराएको केन्द्रीय सदस्य चेतनारायण आचार्यले बताए ।

२०५ सदस्यीय प्रदेश कमिटीमा १२ जिल्लाबाट जिल्लागत प्रतिनिधि १८६,अपांगबाट एक,मजदुरबाट ३, खुल्लाबाट पदाधिकारीसहित १५ जना गरी २०५ जना निर्वाचित हुने छन् । पदाधिकारी ५ जना हुनेछन् । जसअनुसार १२ वटै जिल्ला कमिटीहरुले सहमतिमा नाम पठाउन अलग अलग वैठक शुरु भएका हुन् । यदि जिल्लाबाट जाने नाममा सहमति नभए उनीहरुको पनि निर्वाचन हुनेछ ।

निर्वाचन मण्डलले मतदाताको अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन प्रकृया अघि बढाएको निर्वाचन प्रमुख हरिप्रसाद भण्डारीले बताए ।

यद्यपी प्रदेश कमिटीमा क्लष्टरगत पदाधिकारी र सदस्य कतिजना रहने भन्ने यकिन नभएकाले अन्य निर्वाचन प्रकृया लम्बिएको उनले बताए । मतदान भएको खण्डमा भोलि बिहान मात्रै शुरु हुने भण्डारीले बताए ।

धेरै अधिवेशन प्रतिनिधिले पार्टी नबिग्रने गरी, कार्यकर्ता नभांडिने र पार्टी एकतावद्ध बनाउन सक्ने नेतृत्व सहमति आउन सके मान्य हुने अन्यथा निर्वाचनबाट छान्नुपर्ने बताएका छन् ।

अधिवेशनमा १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरुबाट एक सय जना बराबर एकजना र २३ वटा जनसंगठनबाट ८३ जना गरी १००४ जना प्रतिनिधि छनोट भएका छन् ।

सम्मेलनमा रुपन्देहीबाट सबैभन्दा धेरै १ सय ६४, कपिलवस्तुबाट ७२, दाङबाट १३१, बाँकेबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन् ।

अधिवेशनले यसअघि ५ सय ७६ सदस्यीय रहेको प्रदेश कमिटीलाई २०५ सदस्यीय बनाउनेछ ।

यसअघि १६ र १७ गतेलाई तोकिएको अधिवेशन मिति सहमति नहुने भएसँगै लम्बिने भएको छ । (नेपालप्रेस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*