जनताको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

बकैया दर्पण संवाददाता
१७ भाद्र २०८०, आईतवार १६:२४

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको छ ।

आइतबार “हेलो सरकार”को सेवालाई तीन सिफ्टमा बिस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले सरकारको सबै निकायहरुलाई जनताको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको हो । उहाँले आफूहरुलाई महत्वको नलाग्ने गुनासोहरु जनताको दैनिक जिवनका लागि महत्वपूर्ण हुने भन्दै त्यसालाई ख्याल गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री दाहालले सार्वजनिक निकायप्रतिको नागरिकका सुझावहरु अमृत समान हुने बताउनुभयो । सार्वजनिक निकायहरुमा गुनासो सुनुवाई गर्ने संयन्त्र रहेपनि त्यसले जनताको मुहार उज्यालो बनाउन नसकेको प्रधानमन्त्री दाहालको भनाई छ । उहाँले जनताका गुनासो तथा जिज्ञासाहरुलाई बास्केटमा राखेर कार्यालयमा स्टोर मात्रै गर्ने परम्परागत संयन्त्र र कार्यशैलीले जनताप्रतिको उत्तरदायित्व बोध नगराउने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री दाहालले सबै संयन्त्रलाई उत्तरादायित्व बोधले तिखारेर कार्य सम्पादन गर्न सकेमा मात्र सरकारप्रति जनविश्वास बढेर जाने बताउनुभयो ।

विगत १२ वर्षदेखि सञ्चालनमा रहेको “हेलो सरकार” पछिल्लो समय प्रभावकारी रुपमा सञ्चालनमा हुन सकेको थिएन । आइतबारदेखि २४ घण्टा सञ्चालनमा आउने जनाइएको छ । नेपाल टेलिकम र एनसेल मोबाइलबाट ११११ मा फोन गरी गुनासो राख्न सकिन्छ भने इमेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइबर, ह्वाट्सएप लगायतका डिजिटल माध्यमबाट पनि गुनासो टिपाउने व्यवस्था गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

हेलो सरकारको डेस्कले प्राप्त गुनासोहरू तत्काल सम्बोधन गरी सोको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ । हेलो सरकार २४ सै घण्टा सञ्चालनका लागि तीन सिफ्टको कार्यतालिका निर्माण गरी सोहीअनुरूप कर्मचारी व्यवस्थापनसमेत गरिएको जानकारी दिनुभयो । त्यसका लागि नेपाल सरकारका ३ जना उपसचिवसहित २५ जना कर्मचारीहरू खटाइएको जनाइएको छ । गुनासोहरू सम्बोधनका निम्ति र्‍यापिड रेस्पोन्स टीमसमेत गठन गरी कार्यान्वयनमा ल्याइएको प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो ।    (ईमेजखबर)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*