एमाले एकीकृत समाजवादीको छायाँले गर्दा सर्वदलिय बैठकमा नआएको अध्यक्ष नेपालको दाबी

बकैया दर्पण संवाददाता
५ भाद्र २०८०, मंगलवार १३:४३

मकवानपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीको छायाँका कारण राष्ट्रपतिले बोलाएको सर्वदलिय बैठकमा नेकपा एमाले नगएको बताउनुभएको छ ।

मंगलवार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीको छायाँ परेकाले एमाले राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नगएको बताउनुभएको हो । उहाँले माधव नेपालको छायाँ बैठकमा परेकाले एमालेका नेताहरु अनुपस्थित भएका बताउनु भयो । अध्यक्ष नेपालले आफूहरुसँग त्यस्तो संकिर्णता र सानो चित्त नभएको भन्दै साझा विषयवस्तुहरुमा सबैसँग हातेमालो गर्दै अघि बढ्न चाहेको बताउनु भयो । उहाँले आफूहरुसँग न्युनतम संस्कार र सस्कृति रहेको उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले आफ्नो मनमा नेपाली समाजलाई मुक्ति दिलाउने र नेपालमा समाजवादलाई कसरी साकार पार्न सकिन्छ भन्ने सोच र चिन्तनमात्र रहेको बताउनु भयो ।

अध्यक्ष नेपालले तत्कालिन नेकपाएमालेबाट बिद्रोह गर्नु उचित र जायज भएको बताउनु भयो ।। उहाँले आजसम्मका घटनाक्रमहरुले आफूहरुले विगतमा गरेको बिद्रोह जायज थियो भन्ने कुरालाई बारम्बार पुष्टि हुँदै आएको बताउनु भयो । जुनसुकै कोणबाट हेर्दा पनि बिद्रोह जायज भएको उहाँले जिकिर गर्नुभयो ।

उहाँले बिद्रोह औचित्यपूर्ण रहेको कुरामा स्पष्ट हुन केन्द्रीय सदस्यहरुलाई आग्रह गर्नुभयो । केन्द्रीय सदस्यहरु विश्वस्त भएमा तल्ला कमिटी र नेताहरुलाई पनि विश्वस्त बनाउन सकिने उहाँको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*