प्रतिनिधि सभा विघटन नगरेको भए वामपन्थी आन्दोलन ध्वस्त हुन्थ्यो भन्ने अध्यक्ष ओलीको दाबी

बकैया दर्पण संवाददाता
३० श्रावण २०८०, मंगलवार १७:०२

मकवानपुर । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्न आफूले प्रतिनिधि सभा विघटन गरेको बताउनुभएको छ ।

मंगलवार नेकपा(एमाले) वागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्नका लागि आफूले प्रतिनिधि सभा विघटन गरेको बताउनुभएको हो ।

उहाँले प्रतिनिधि सभा विघटन नगरेको भए देशको वामपन्थी आन्दोलन ध्वस्त हुने बताउनुभयो । उहाँले तत्कालिन समयमा आफूहरुलाई झुण्ड्याएर मार्ने डोरी बनाइएको भन्दै आफूले संसद विघटन गरिदिएर सो डोरी छिनाल्दिएको बताउनुभयो ।

अध्यक्ष ओलीले प्रतिनिधि सभा विघटनपछि पार्टीको सदस्यबाटै निकालिएका आफूहरुले संगठन बिस्तार र सुदृढ गरेर मजबुत र प्रमुख पार्टीको रुपमा पुनःस्थापित गरी प्रतिनिधि सभामा प्रवेश गरेको बताउनुभयो । उहाँले प्रतिनिधि सभा विघटन त्यस बेलाको अपरिहार्यता भएको उल्लेख गर्दै सो कदम राजनीतिक, संवैधानिक र संसदीय भएको जिकिर गर्नुभयो ।

अध्यक्ष ओलीले माधवकुमार नेपाल वामपन्थी आन्दोलन समाप्त पार्नका लागि हदैसम्म गिरेको बताउनुभयो । नेपालले दुई तिहाइको कम्युनिस्ट सरकार ढालेर प्रतिक्रियावादी र दक्षिणपन्थी सरकार बनाउन भोट दिएका बताउनुभयो ।

अध्यक्ष ओलीले पार्टीका नेता, कार्यकर्ताहरु कहिलेकाहीँ राजनीतिक अलमलमा पर्ने गरेको भन्दै त्यसरी अलमलमा नपर्न आग्रह पनि गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*