कोशी प्रदेश सरकार गठनको मुद्दाः निवेदकहरुको बहस सकियो, भ्याएसम्म आजै फैसला सुनाउने तयारी

बकैया दर्पण संवाददाता
९ श्रावण २०८०, मंगलवार १६:०६

मकवानपुर । कोशी प्रदेश सरकार गठनको विवादसम्बन्धी रिट निवेदनमाथि मंगलबार निवेदकहरुको बहस सकिएको छ । निवेदकहरुको बहस सकिएपछि सरकारी पक्षले बहस गरिरहेको छ ।

यसपछि जवाफी बहस सक्ने र फैसला सुनाउने तयारी छ । सकेसम्म आजै र सकिएन भने हेर्दाहेर्दैमा राखेर भोलि बुधबार फैसला सुनाउने तयारी गरिएको छ ।

आज बहसका लागि निवेदक र प्रतिपक्षलाई २/२ घन्टा र सरकारी पक्ष र जवाफी बहसका लागि १/१ घन्टा समय छुट्याइएको छ ।

कोशी प्रदेश सरकार गठनको विवादसम्बन्धी रिट निवेदनमा सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ भइरहेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भएको हो ।

प्रदेश सभाका सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर संलग्न गरी नेपाली कांग्रेसका नेता उद्धव थापाको नेतृत्वमा सरकार गठन गरिएको, र उक्त कार्य संविधान विपरीत भएको भन्दै नेकपा एमालेका प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिटमा असार २७ गते पहिलो सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आइतबारका लागि अन्तिम सुनुवाइको मिति तोकेको थियो ।

आइतबारदेखि अन्तिम सुनुवाइ सुरु हुने भनिए पनि सोमबारसम्म पनि सुनुवाइ सुरु हुन सकेको थिएन । आइतबार हेर्न नमिल्ने न्यायाधीशको इजलासमा परेपछि मुद्दाको सुनुवाइ सरेको थियो । सोमबार न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी परेपनि संवैधानिक इजलासमा पठाउने भन्ने विवादका कारण सुनुवाइ सुरु हुन सकेन ।

न्यायाधीश माथेमा र श्रेष्ठको इजलासले रिटलाई पूर्ण इजालसबाट सुनुवाइ गर्ने आदेश दिएपछि मंगलबार पूर्ण इजलासमा पेसी तोकिएको हो । (नेपाल लाइभ)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*