वकैयामा बाघको त्रास

बकैया दर्पण संवाददाता
१७ पुष २०७९, आईतवार १७:०१

मकवानपुर । मकवानपुरको पूर्वी वकैया गाउँपालिकामा दिनहुँ बाघले घरपालुवा जनावर मार्न थालेपछि स्थानीयहरु त्रसित बनेका छन् ।

वकैया गाउँपालिकाका वडा नम्बर २ र ७ का स्थानीय वासिन्दाहरुको कहिले बाख्रा, कहिले बङ्गुर त कहिले गाईका बाच्छाहरु बाघले दिनहुँ बाघले खाने गरेको छ । दिनभर स्थानीयहरु शान्त रहे पनि रात्रीकालीन समयमा आज कसकोमा के खाने हो भन्ने डरले त्रसित हुने गरेका छन् । रातको समयमा वल्लोपल्लो टोलमा हिड्डुल गर्न समेत समस्या परेको बकैया ७ का स्थानीय राजन घिमिरे बताउँछन् ।

वकैया गाउँपालिका क्षेत्रमा गत मसिंर १६ गतेबाट बाघको आक्रमण शुरु भएको हो । १६ गते वकैया २ का मानबहादुर स्याङ्तानको बङ्गुर खोरमा नै पसेर बाघले खाएपछि स्थानीयहरु ससंकित भएका थिए । त्यसपछि वकैया ७ को चुन ढुङ्गा, हर्दा, कत्लेखोला, रानीदमारमा दिनहुँ बाघको आक्रमण बढेको छ । बाघले अहिलेसम्म बङ्गुर, बाख्रा र गाईका बाच्छाहरु धेरै खाइसकेको छ । बाघले बकैया ७ कत्लेखोलामा जानुका गुरुङको बङ्गुर खोरमै खाएपछि स्थानीय शिक्षक लक्ष्मण राई सम्बन्धित निकायमा बाघको आक्रमणको बिषयलाई पटक–पटक जानकारी गराउदा पनि सुनुवाई नभएको गुनासो गर्नुहुन्छ ।

स्थानीय बकैया ४ का बिभिन्न स्थानहरुमा पनि बाघ पसेको प्रचार गरिएपछि वकैयाका धेरै स्थानीयहरु बाघको आक्रमण जुनसुकै समय हुन सक्नेतर्फ त्रसित भएका छन् ।

यता, वकैया गाउँपालिकाका बासिन्दाहरु बाघको आक्रमणबाट त्रसित बनिसक्दा पनि वकैया गाउँपालिका कार्यालय भने त्यति गम्भीर देखिदैन । गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने भने बाघको आक्रमणको सुचना पाएलगत्तै डिभिजन वन कार्यालय मकवानपुर, जिल्ला प्रशासन कार्यालय मकवानपुर र पर्सा राष्ट्रिय निकुञ्जलाई खवर गरेर पुस ४ मा सिसि क्यामेरा जडान गरेको बताउनुहुन्छ । तर झण्डै १ महिना बितिसक्दासमेत बाघको अत्तोपत्तो छैन ।

कृषिमा प्रशस्त लगानी गर्ने उद्घोष गरेर अगाडि बढ्नुभएको पालिका अध्यक्ष लामिछानेकै पालिकामा किसानले पालेका पशुपन्क्षीहरु यसरी मारीरहदा पनि पालिका मौन देखिनु पक्कै शोभनिय नदेखिने स्थानिय बुद्धिजीविहरुको बुझाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*