एपीएफले हान्यो बिरगंजलाई दर्जन गोल

बकैया दर्पण संवाददाता
२२ बैशाख २०८२, सोमबार २१:१०

मकवानपुर: सशस्त्र प्रहरी बलको एपीएफले मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा बिरगंज युथ स्पोर्ट्स एकेडेमीमाथी एकतर्फी जीत निकालेको छ । सोमबार हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको खेलमा एपीएफले बिरगंजलाई शुन्यविरुद्ध एक दर्जन गोल गर्‍यो ।

पहिलो हाफमा ५ गोल गरेको एपीएफले दोस्रो हाफमा ७ गोल थप्यो । एपीएफको जीतमा रश्मी कुमारी घिसिङ नायिका बनिन् । उनले ५ गोल गरिन् । उनले खेलको २३, ४९ र ६९ औं मिनेटमा ह्याटि्रक पूरा गरिन् भने ७० औं र ७८ औं मिनेटमा थल गोल गरिन् ।

सरु लिम्बुले १९ औं मिनेटमा पहिलो गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । खेलको २५ औं मिनेट अनिता केसि, ३५ औं मिनेटमा पुनः सरु लिम्बुले, ३९ मिनेट अनिता बस्नेत, ४५ औं मिनेटमा मन्जली योन्जन, ५१ औं मिनेटमा सजनी थोकर र ७३ औं मिनेटमा सविता रानाले गोल गरिन् । खेलको म्यान अफ द म्याच रश्मी घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन्।

तस्बिर : रबिन्द्र वाईबा

 

एपीएफ सेमिफाइनलमा प्रवेश गरेसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अब एपीएफले मंगलबार नै संकटासँग भिड्नेछन् । यसअघि सिमराको नवजनजागृती युवा क्लबलाई ६-१ फराकिलो गोलान्तरले हराउँदै संकटा सेमिफाइनल प्रवेश गरेको थियो । मंगलबारको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र चितवनबीच बिहान ८:३० बजे प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*