बकैया १० मन्थलीमा पुग्यो विद्युत प्रशारण लाइन, पहिलो चरणमा १ सय ५५ घरधुरी लाभान्वित

बकैया दर्पण संवाददाता
१२ आश्विन २०७९, बुधबार ०८:०१

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १० मन्थलीमा पहिलोपटक विद्युत प्रशारण लाइन बिस्तार भएको छ । सोमबार धुवाकोटमा रहेको ५० केभिए ट्रान्सफर्मर र घैटार बेसीमा रहेको १०० केभिए ट्रान्सफर्मरमा विद्युत लाइन चालू भएको हो ।

विद्युत प्रशारण लाइन विस्तारसंगै पहिलोचरणमा साबिक मन्थली गाविसका वडा नम्बर ५, ६ र ८ नम्बर (हाल बकैया गाउँपालिका वडा नम्बर १०) का १ सय ५५ घरधुरीका जनता लाभान्वित भएका छन् । विद्युत नहुँदा त्यस क्षेत्रका जनताको जनजीवन प्रभावित बनेको थियो । सोमबारबाट दुई ट्रान्सफर्मर जोडिएसँगै मन्थलीका जनताको घरघरमा उज्यालो छाएको छ ।

वडा नम्बर १० का निवर्तमान वडाध्यक्ष सोम बहादुर तिमल्सिनाले गाउँमा विद्युत विस्तार गर्ने कार्य आफ्नो कार्यकालमा सुरुवात गरिएको र अहिले आएर उक्त कार्यले सफलता प्राप्त गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले घरघरमा बिजुली आएपछि अब यस क्षेत्रका जनताको दैनिकीमा समेत परिवर्तन आउने बताउनुभयो ।

निवर्तमान वडाध्यक्ष तिमल्सिनाले विद्युत प्रशारण लाइनका निम्ति सघाउने निवर्तमान गाउँपालिका अध्यक्ष दामोदर खनाल, वर्तमान अध्यक्ष धर्मराज लामिछाने, नेपाल विद्युत प्राधिकरण हेटौंडा बितरण केन्द्र, गाउँकार्यपालिका तथा वडा कार्यसमिति, वर्तमान वडाध्यक्ष कमला कुमारी वाईवा, चिउरीबासदेखि घैटार बेसीसम्म करिब १० किलोमिटर ११ हजार केभिए प्रशारण लाइन निर्माण कार्यमा नेतृत्व गर्ने पुर्ण बहादुर भोलन र केदार खड्काप्रति विशेष आभार पनि व्यक्त गर्नभएको छ । उक्त विद्युत प्रशारण लाइनका लागि झण्डै डेढ करोड लगानी भएको पनि उहाँले जानकारी दिनुभयो ।

बागमति प्रदेशको राजधानीसमेत रहेको जिल्ला मकवानपुरमै यस्तो समस्या रहेको बताउदै निवर्तमान वडाअध्यक्ष तिमल्सिनाले अझै उक्त वडामा ४ सय घरधुरीमा बिद्युत लाइन पुग्न बाँकी रहेकोसमेत जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*