बागमती गोल्डकपमा चित्लाङको पहिलो जित, एपीएफ २–१ ले पराजित
बागमती गाउँपालिका,मकवानपुर : मकवानपुरमा जारी आठौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा काठमाडौंको चित्लाङ एफसीले पहिलो जित दर्ता गरेको छ। शनिबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको खेलमा चित्लाङले एपीएफ क्लबलाई २–१ गोल अन्तरले हराएको हो।
चित्लाङका लागि सोलोमन किङले खेलको ११औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए।
दोस्रो हाफको ६०औं मिनेटमा एरोन थापाले अर्को गोल थपे। एपीएफका बुद्धिमान राईले ४७औं मिनेटमा एक गोल फर्काए पनि टोलीलाई जित दिलाउन सकेनन्।यस जितसँगै चित्लाङ एफसीले सेमिफाइनल प्रवेशका लागि मंगलबार मछिन्द्र एफसीसँग प्रतिस्पर्धा गर्नेछ। मछिन्द्र समूह ‘बी’बाट बाई पाएको टोली हो।
प्रतियोगिताअन्तर्गत आइतबार चर्च ब्वाइज युनाइटेड र सर्लाहीको बागमती युथबीच खेल हुने तय भएको छ। सेमिफाइनल खेलहरू वैशाख २३ र २४ गते तथा फाइनल वैशाख २६ गते हुनेछ।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीहरूले जनही २५–२५ हजार रुपैयाँ पाउनेछन्।बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङका अनुसार प्रतियोगिता उत्साहजनक रूपमा सञ्चालन भइरहेको छ।
