हेटौँडा–१६ हटियामा बागमती प्रदेशका मन्त्रालय भवनहरु बनाउने

बकैया दर्पण संवाददाता
२८ भाद्र २०७९, मंगलवार १६:३५

मकवानपुर । बागमती प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिका–१६, हटियास्थित सार्वजनिक जग्गामा प्रदेश मन्त्रालयका भवनहरु निर्माण गर्ने भएको छ ।

बागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै हेटौँडा–१६ मा रहेको शिवम् सिमेन्टसँगै जोडिएको ५४ बिघा क्षेत्रफलको जग्गामा प्रदेशका संरचना निर्माण गरिने जानकारी दिनुभएको हो ।

उहाँले प्रादेशिक संरचना निर्माण गर्न जग्गा छनौट गरेर स्वीकृतिका लागि संघीय सरकारमा पठाएको र केही दिनभित्रै अनुमति प्राप्त हुने जानकारी दिनुभयो ।

प्रादेशिक संरचना निर्माणका लागि चालु आर्थिक वर्ष २०७९/८० मा १ अर्ब ५ करोड बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । उहाँले हटियामा मुख्यमन्त्री कार्यालयदेखि मन्त्रालयहरू, प्रदेशसभा भवन, प्रदेश लोकसेवा आयोग, सांसददेखि मन्त्रीका क्वाटर, विभागहरू, प्रहरी विटसहितको संरचना निर्माण हुने जानकारी दिनुभयो । बागमतीमा सरकार गठन भएको चार वर्षपछि ११ फागुन २०७८ मा प्रदेश सरकारले हेटौँडाको आठ ठाउँमा जग्गा पहिचान गरी प्रादेशिक संरचना निर्माण गर्न स्वीकृतिका लागि संघीय सरकारसमक्ष सिफारिस गरेको थियो ।

यसअघि तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा–२, स्थित हालकै सरकारी अड्डा भएका क्षेत्रमा प्रादेशिक संरचना बनाउने गरी डीपीआर निर्माण गर्नुभएको थियो । हालका मुख्यमन्त्री कार्यालय रहेको क्षेत्र साँघुरो रहेको भन्दै पाण्डे नेतृत्वको सरकारले प्रादेशिक संरचना हटिया पु¥याएको हो ।

२०७८ कात्तिक ११ मा पाण्डे नेतृत्वको सरकार गठन भएपछि प्रशासनिक भवन जग्गा पहिचान समिति बनाएर प्रादेशिक संरचना बनाउन नयाँ जग्गा खोजी गरिएको थियो । उक्त समितिले ८ वटा जग्गामा संरचना बनाउन कुल एक सय ९५.२७ बिघा जग्गा पहिचान गरेर सरकारलाई प्रस्ताव गरेको हो ।

हेटौँडा उपमहानगरपालिका–१९ लेवटमा ८० बिघा जग्गा पहिचान गरिएको थियो । यसैगरी, हेटौँडा–१६ मा ५४ बिघा, हेटौँडा–६ चित्रेपानीमा २० देखि २५ बिघा, हेटौँडा–९ लामसुरेमा १५ बिघा, हेटौँडा–१७ हटियास्थित डिपोचौरमा १२ बिघा, हेटौँडा–९, स्थित हेटौँडा सिमेन्टको स्वामित्व रहेको ५ बिघा, हेटौँडा–८ भोर्लेमा २.१३ र हेटौँडा–१७ हटियाको पश्चिम डिपोचौरमा २.१४ बिघा जग्गा छनोट गरेर संघीय सरकारलाई स्वीकृतिका लागि प्रस्ताव गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*