पूर्व मन्त्री बस्नेत बाढीपिडितको समस्या लिएर मुख्यमन्त्री कार्यालयमा

बकैया दर्पण संवाददाता
२८ भाद्र २०७९, मंगलवार १६:१४

मकवानपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सञ्चार मन्त्री मोहनबहादुर बस्नेत मंगलबार बाढीपिडितहरुलाई परेको समस्या समाधान गर्न सरोकारवालाहरुसहितको टोली लिएर मुख्यमन्त्री कार्यालय हेटौँडा आउनुभएको छ ।

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु, मेलम्ची र पाँचपोखरीमा भएका बाढीपिडितहरुको समस्या तत्काल समाधान गर्न उहाँले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेसँग पत्रकारहरुकोसमेत रोहवरमा छलफल गर्नुभएको हो ।

सिन्धुपाल्चोक जिल्लामा बर्षेनी बाढी पहिरोका कारण धेरै धनजनको क्षति भएकाले प्रदेश सरकारले उक्त क्षेत्रमा छिटो काम गर्नका लागि उहाँले सुझाब दिनुभयो ।

यसैगरी, हेटौंडा–काठमाण्डौं ओहोर दोहोर गर्ने छोटो दुरीको मार्गमा देखिएको कठिनाईका बिषयमा पनि जानकारी गराउनुभयो । आफु सञ्चार मन्त्री भएकै समयमा हेटौँडाको मुख्य बजार क्षेत्रभन्दा बाहेकको बाइपास सडकबाट राजमार्ग लैजाने विषयमा मन्त्रीपरिषद्बाट निर्णय भएको र अझै कार्यान्वयन नभएको पूर्ब मन्त्री बस्नेतको भनाई छ । त्यसबेला निर्णय भएको तर निर्णय नलेखिदा यो समस्या कायम रहेको उहाँले बताउनुभयो ।

जवाफमा मुख्यमन्त्री पाण्डेले सिन्धुपाल्चोकवासीका समस्यालाई थोरै भए पनि समाधान गर्ने गरी चालु आर्थिक वर्षमा १० करोड रुपैयाँ बजेट छुट्याइएको र सो रकमबाट तत्काल तीन स्थानिय तहहरु हेलम्बु, मेलम्ची र पाँचपोखरीभित्र ३७ स्थानमा कार्यान्वयनको चरणमा गएको बताउनुभयो । जिल्लाका समस्याग्रस्त क्षेत्रमा काम सुरु गर्न आग्रह गर्नुहुदै मुख्मन्त्री पाण्डेले बजेटको अभाव हुन नदिने दावी गर्नुभयो । हेटौंडा–भैसे–भीमफेदी–सिस्नेरी सडकमा दुबैतिरबाट ठेक्का लगाएर काम भइरहेको उहाँको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*