तामाङ र नेपाल भाषालाई कामकाजको भाषा बनाउने बागमती सरकारको निर्णय

बकैया दर्पण संवाददाता
२८ भाद्र २०७९, मंगलवार १०:२५

मकवानपुर । बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई प्रदेशको कामकाजको भाषा बनाउने निर्णय गरेको छ । यसको प्रक्रियाका लागि प्रमुख सचिवलाई समन्वय गर्ने जिम्मेवारी दिइएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालले बताउनुभएकाे हाे । अघिल्लो आर्थिक वर्षमा विनियोजित तर भुक्तानी दिन रोकिएको डेढ अर्ब रुपैयाँ भुक्तानी दिने प्रक्रिया मिलाउने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै प्रदेश औद्योगिक व्यवसाय नियमावली २०७९ स्वीकृत गर्ने, प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७९ जारी गर्ने र हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक अस्पतालको रुपमा स्थापना गर्ने पनि निर्णय भएको मन्त्री खनालकाे भनाइ छ ।

यसैगरी, बागमती प्रदेश सरकारले संविधान दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गर्ने भएको छ । प्रदेश सरकारले तीन दिन विविध कार्यक्रम गरी संविधान दिवस मनाउने भएको हो । सरकारले असोज २ गते हेटौंडा उपमहानगरको समन्वयमा नगर क्षेत्र, कार्यालय परिसरलगायत मठमन्दिर र सार्वजानिक स्थलमा सरसफाइ गरिने, सञ्चार रजिष्ट्रार, पत्रकार महासंघ मकवानपुरको समन्वयमा सञ्चार माध्यममा परिसम्वाद, विशेष सम्वाद, विचार गोष्ठी कार्यक्रम गरिने, दिवसको दिन संविधानसँग सम्बन्धित लेख, रचना अनलाइन तथा छापा माध्यमहरुमा प्रकाशन गरिने, युवा तथा खेलकुद मन्त्रालयको संयोजनमा विभिन्न खेलकुद कार्यक्रमहरु गरिने सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले बताउनुभयो ।

त्यस्तै, असोज ३ गते दिवसको दिन पर्यटन मन्त्रालयको संयोजनमा सहिदको आत्माको चीर आत्माका लागि धार्मिक स्थलहरुमा विशेष पुजापाठ र प्रार्थनाको कार्यक्रम गरिने, प्रादेशिक विविधता झल्किने गीत, नृत्य, झाँकी, सुरक्षाकर्मीको मार्चपास सबैको उपस्थितीमा भुटनदेवी माविबाट प्रभातफेरी गरीने, सबै सरकारी कार्यालय, विद्यालय, संघसंस्थाहरुमा दीपावली गर्ने कार्यक्रम रहेको जनाइएको छ । यसैगरी, असोज ४ गते विषेश कार्यक्रमको आयोजना गर्दै पुरस्कार वितरण तथा समापन कार्यक्रम गरिने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*