मकवानपुर १ (क) मा कसले मार्ला बाजी (मत बिश्लेषणसहित)

बकैया दर्पण संवाददाता
२७ भाद्र २०७९, सोमबार १२:१६

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनको सरगर्मी बढीरहदा बागमति प्रदेशको राजधानी रहेको जिल्ला मकवानपुर १ (क) मा कसले बाजी मार्ला भन्ने चर्चा र चासो बढेको छ ।
प्रदेश सभा निर्वाचन २०७४ मा भन्दा यो पटक फरक गठबन्धन बनेकाले पनि यो बिषयले प्राथमिकता पाएको हो ।

प्रदेश सभा निर्वाचन २०७४ मा मकवानपुर १ (क) मा नेकपा एमाले र नेकपा माओबादी केन्द्र गठबन्धनबाट प्रेमबहादुर पुलामीले २१ हजार ६ सय २९ मत ल्याएर विजयी हुँदा उहाँका निकटमत् प्रतिस्पर्धीका रुपमा नेपाली काङ्ग्रेसका धर्मराज लामिछानेले १८ हजार ७ सय ७५ मत ल्याउनुभएको थियो । उहाँहरुका विचमा २ हजार ८ सय ५४ मतान्तर रहेको थियो ।

प्रदेश सभा निर्वाचन २०७९ का लागि नेपाली काङ्ग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एकिकृत समाजवादीलगायतका ५ वटा दलहरु एकातिर र नेकपा एमाले एक्लै एकातिर रहेको छ । यसो हुँदा गठबन्धनले सहजै जित हात पार्ने आँकलन गरिएको छ ।

मकवानपुर १ (क) मा बागमति गाउँपालिका, वकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिकाका वडाहरु १, २, ३ र ४ र हेटौँडा उपमहानगरपालिकाका वडाहरु १६, १७ र १८ पर्दछन् । सो मध्ये वकैया गाउँपालिकाका २ वटा वडाहरु (वडा नम्बर १० र १२), मकवानपुरगढीको एउटा वडा (वडा नम्बर ३) र हेटौँडा उपमहानगरपालिकाको २ वडाहरु (वडा नम्बर १६ र १८) मा गरी जम्मा ५ वटा वडाहरुमा मात्रै स्थानिय निर्वाचन २०७९ को क्रममा वडा अध्यक्षको निर्वाचनमा नेकपा माओबादी केन्द्र, नेपाली काङ्ग्रेस र नेकपा एकिकृत समाजवादी बिचमा गठबन्धन भएको थियो भने नेकपा एमालेले सबै वडाहरुमा एक्लैले निर्वाचन लडेको थियो ।

गठबन्धन भएका वडाहरुमध्ये बकैया गाउँपालिकाको १० र १२ तथा हेटौँडा उपमहानगरपालिकाको १६ र १८ मा नेपाली काङ्ग्रेसको नेतृत्वमा गठबन्धन भएको थियो भने मकवानपुरगढी ३ मा नेकपा एकिकृत समाजवादीको नेतृत्वमा गठबन्धन भएको थियो । सोमध्ये हेटौँडा उपमहानगरपालिका १८ र मकवानपुरगढी गाउँपालिका ३ मा एमाले विजयी भएको थियो ।

स्थानिय निर्वाचन २०७९ को वडा अध्यक्षहरुले पाएको मतलाई हेर्दा मकवानपुर १ (क) मा नेकपा एमाले एक्लैले १८ हजार ८ सय १० मत ल्याएको छ भने नेपाली काङ्ग्रेसले १४ हजार २ सय ६१ र नेकपा माओबादी केन्द्रले १२ हजार ६ सय ५ मत ल्याएको छ । यसैगरी, गठबन्धन भएका ५ वटा वडाहरुमा गठबन्धनले ६ हजार ३ सय ४५ मत प्राप्त गरेको तथाङ्क छ । यहीँ तथ्याङ्कलाई हेर्दा नेकपा एमालेको १८ हजार ८ सय १० मत र गठबन्धनको ३३ हजार २ सय ११ हुन आउँछ ।

तर गठबन्धनमा कसले टिकट प्राप्त गर्छ र अन्य दलको गतिबिधिका आधारमा आफुले कसरी निर्वाचन जित्ने भन्ने योजना बनाउने दाउमा एमाले रहेको छ भने एमालेसँग राप्रपालगायतका साना दलहरुसँग गठबन्धन हुने बिश्लेषण हुन थालेको छ । यस्तो अबस्था आए एमाले पनि उच्च मनोवलका साथ निर्वाचनमा होमिने निश्चित छ ।

यसअघि नै नेपाली काङ्ग्रेसले दामोदर खनाल, भूमिनन्द गौतम र मिठाराम दाहालको नाम सिफारिस गरेको छ । यसैगरी, नेकपा एमालेले अणराज जर्गा मगर, राजकुमार तिमल्सिना, दिलबहादुर घिसिङ, कृष्णप्रसाद चौलागाईं, कमल बिष्ट, नारायण सापकोटा, दीपक न्यौपाने र सीता बिष्टलाई सिफारिस गरेको छ ।

यता, नेकपा माओबादी केन्द्रले केन्द्रीय सदस्य बिजय गौतम, बागमति प्रदेश कमिटी उपाध्यक्ष प्रेमबहादुर पुलामी मगर, र जिल्ला समन्वय सचिव भीमबहादुर पाख्रिनलाई सिफारिस गरेको छ । राप्रपा नेपालले राजाराम अर्याल, बद्री कुँवर र कमल बिडारीलाई सिफारिस गरेको छ भने राप्रपाले सागर थापा, ऋषिलाल श्रेष्ठ र भरत तिमल्सिनाको नाम सिफारिस गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*