हेटौंडामा निर्वाचित जनप्रतिनिधिहरुको एक सय दिन

बकैया दर्पण संवाददाता
२० भाद्र २०७९, सोमबार १५:११

मकवानपुर । हेटौंडा उपमहानगरपालिमा नव निर्वाचित जनप्रतिनिधीहरुको एक सय दिन पुरा भएको छ । आइतबार उपमहानगरपालिका कार्यालयले पत्रकार सम्मेलन गर्दै एक सय दिनमा गरिएका महत्वपूर्ण कामको विवरण सार्वजनिक गरिएको हो ।

उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा, उपमेयर राजेश कुमार बानियाँ, प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई, प्रबक्ता सविन न्यौपाने, हेटौंडाका बिभीन्न वडाका अध्यक्षहरु सहितको रोहवरमा पत्रकार सम्मेलन गरेर गरिएका कामका बारेमा जानकारी गराइएको हो ।

निर्वाचित जनप्रतिनिधिहरुले एक सय दिनमा गरेका कामहरु यसप्रकार रहेका छन् ।

१. उपमहानगरपालिकाका प्रत्येक घरधुरिलाई १०००० (दश हजार लिटर) खानेपानी निशुल्क बितरणको लागि हेटौंडा खानेपानी बोर्ड संग सम्झौता भएको छ ।

२. उपमहानगरपालिका भित्र बसोबास गर्ने अति बिपन्न १५४१ परिवारलाई स्वास्थ्य बिमा गर्ने प्रकृया अगाडि बढेकोछ ।

३. तीन पांग्रे सवारी र पार्किङ व्यबस्थापन गर्ने सन्दर्भमा स्टिकर टाँस गर्ने कार्य सुरु भएको । हालसम्म मयुरी ३०३ र अटो ११२२ गरी जम्मा १४२५ तीन पांग्रे सवारीमा स्टिकर टाँस गरिएको छ ।

४. नेपाल रेडक्रस सोसाईटीसंग सम्झौता गरी चालु आर्थिक बर्षमा समेत नगरबासीहरुलाई निःशुल्क रक्तसेवा शुरु गरिएको छ ।

५. उपमहानगरपालिकाका दुई स्थानहरु हटिया स्वास्थ्य चौकि र पदमपोखरी स्वास्थ्य चौकिहरुलाई स्तर बृद्धि गरी आधारभूत अस्पतालको रुपमा संचालन गरी हाललाई ओपिडि, प्रयोगशाला र स्वास्थ्य बिमाको औषधी वितरण गर्ने प्रयोजनको लागि चिकित्सक भर्ना प्रक्रिया र बिमा सेवा अनुमती प्रकृया अगाडि बढाइएको छ ।

६. चीनको युनान प्रान्तीय सरकारको समन्वयमा हेटौंडा उपमहानगरपालिका संग भगिनि सम्बन्ध बिस्तारको लागि बार्ता सम्पन्न भई प्रकृया अगाडि बढाइएको । साथै युनान प्रान्तीय सरकारको नेपाल प्रतिनिधि कार्यालयले उपलब्ध गराउने ५० लाख बराबरको उपकरण प्राप्त हुने क्रममा रहेको छ ।

७. भूमि व्यबस्थापनको लागि जग्गा बर्गीकरण कार्यदल बनाई सबै वडाहरूमा छलफल भई वडा समितिको सिफारिस समेतको आधारमा वडागत जग्गा बर्गीकरण प्रतिबेदन प्राप्त भई स्थानीय भूउपयोग परिषदमा पेश भएको । यस सम्बन्धमा राय प्रतिक्रियाको लागि नगरवासी समक्ष प्रतिवेदन सार्वजनिक गरिएको छ ।

८. उपमहानगरपालिकाको विकट क्षेत्रमा बसोबास गर्ने स्वास्थ्य सेवाबाट बञ्चित समुदायलाई लक्षित गरी वडा नं १५ को चिप्लेटिमा स्वास्थ्य संस्था संचालन प्रकृया अगाडि बढाइएको छ ।

९. टोलविकास संस्थाहरुको अगुवाईमा प्रत्येक शनिवार वडा तथा बस्ति तहमा “सफा हेटौंडा अभियान” संचालन शुरु गरिएको छ ।

१०. सडक विस्तारको क्रममा सडकमा परेका विजुलीको पोल सार्नको लागि वडागत रुपमै तथ्यांक संकलन कार्य सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरण संगको साझेदारीमा पोल ब्यवस्थापन गर्ने कार्यको प्रक्रिया अगाडि बढाइएको छ ।

११. दक्षिण एसियाली शहरहरुको फोरम सिटिनेटको सेप्टेम्बर २० देखि २३ सम्म मलेसियाको राजधानी क्वालालाम्पुरमा हुने नवौँ कांग्रेसमा सहभागी हुन उपमहानगरपालिकाको प्रतिनिधित्व सुनिश्चित भएको छ ।

१२. हेटौंडा उपमहानगरपालिका वडा नं. ९ र १० मा पर्ने कर्रा पुलबाट पश्चिम तर्फको भागमा Green and Blue Concept मा आधारित पर्यटकीय पार्क सहितको ताल निर्माण गर्नको लागि डिपिआर तर्जुमा प्रक्रिया अगाडि बढाइएको छ ।

१३. उपहानगरपालिकाको अभिभावकत्वमा स्नातक तहको अध्यायनको लागि इञ्जिनियरिङ कलेज स्थापनाको प्रक्रिया अगाडि बढाइएको छ ।

१४. बसपार्क क्षेत्रमा सुविधा सम्पन्न ब्यापारिक भवन निर्माण गर्न डिपिआर गर्ने कार्य अगाडि बढाइएको छ ।

१५. हेटौंडा उपमहानगरपालिका अन्तर्गत नक्सा पास नगरी वा सार्वजनिक जग्गा/सडक अतिक्रमण गरी मापदण्ड बिपरित निर्माण गरिएका भौतिक संरचनाहरु हटाउने प्रयोजनको लागि सो सम्बन्धी लगत लिन कार्यदल गठन गरिएको छ ।

१६. हेटौंडा बसपार्क क्षेत्रमा रहेको तरकारी बजारलाई हेटौंडा १ स्थित राप्ती नदी उकास क्षेत्रमा स्थानान्तरण गर्न आवश्यक पूर्वाधार निर्माण र टहराको छाना छाउन लाग्ने लागत अनुमान स्वीकृत गरी बजेट ब्यवस्थापन गरिएको । साथै निर्माण कार्य सम्बन्धित तरकारी ब्यवसायी र हेटौंडा उपमहानगरपालिकाको लागत साझेदारीमा अघि बढाउने निर्णय भएको छ ।

१७. प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत रहेको प्रदेश समन्वय कमिटि र नगर विकास कोष मा उपमहानगरपालिकाको सस्थागत प्रतिनिधित्व सुनिश्चित भएको छ ।

१८. हेटौंडा उपमहानगरपालिकाको फोहोरको दिर्घकालिन ब्यवस्थापन गर्ने प्रयोजनको लागि उपमहानगरपालिकाको उपयुक्त स्थानमा डम्पिङ्ग साईटको खोजी र फोहोर ब्यवस्थापन मोडालिटी सिफारिस गर्न कार्यदल गठन गरिएको छ ।

१९. हेटौंडा उपमहानगरपालिकाले दक्षिण एसियाली शहरहरुको फोरम सिटिनेटको नेपाल च्याप्टर अध्यक्षको हैसियतले सो को समन्वय बैठक हेटौंडामा आयोजना गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*