एमाले, काङ्ग्रेस र राप्रपा नेपालद्धारा मकवानपुर १ मा उम्मेदवार सिफारिस

बकैया दर्पण संवाददाता
१८ भाद्र २०७९, शनिबार १७:०७

मकवानपुर । आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनको लागि मकवानपुर १ बाट तीन दलहरु नेकपा एमाले,नेपाली काङ्ग्रेस र राप्रपा नेपालले आ–आफ्ना उम्मेदवार माथिल्लो कमिटिलाई सिफारिस गरेको छ ।

शनिवार बसेको नेकपा एमालेको प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नंबर १ को बैठकले मकवानपुर क्षेत्र नंबर १ को लागि ५ जनाको नाम सिफारिस गरेको छ ।

बैठकले नेकपा एमालेका केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्य तथा हालका प्रतिनिधि सभा सदस्य कृष्णप्रसाद दाहाल, एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्य तथा अधिवक्ता मदनकुमार दाहाल, एमाले मकवानपुरका सदस्यहरु नरहरी महत र रमिला सापकोटालाई उम्मेदवारका लागि जिल्ला कमिटीलाई सिफारिस गरेको हो ।

यसैगरी, आगामी मंसिर ४ गते हुने निर्वाचनमा मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर–१ बाट चुनाव लड्न नेपाली कांग्रेसले पनि ४ जनाको नाम सिफारिस गरेको छ ।

शुक्रबार बसेको कांग्रेस मकवानपुर–१ को क्षेत्रिय समितिको बैठकले सो क्षेत्रबाट कांग्रेस मकवानपुरका चार नेताको नाम प्रत्यक्षतर्फ उम्मेदवारको रुपमा सिफारिस गरेको हो ।

बैठकको निर्णयअनुसार नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’, नेपाली कांग्रेस बागमती प्रदेशसभा सभापति इन्द्रबहादुर बानियाँ, पूर्वजिल्ला सभापति रामचन्द्र अर्याल ‘माइकल’ र महासमिति सदस्य जयराम लामिछानेको नाम सिफारिस गरेको हो ।

यता, राष्ट्रिय प्रजातान्त्रीक (नेपाल) मकवानपुरले पनि आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि पार्टी केन्द्रीय अध्यक्ष कमल थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । थापालाई उहाँको गृहक्षेत्र मकवानपुरको क्षेत्र नंबर १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले बताउनुभयो ।

यता, नेपाली काङ्ग्रेसको बैठकले मकवानपुर–१बाट प्रतिनिधिसभाको समानुपातिकतर्फ नेताहरुको नामसमेत सिफारिस गरेको छ । मकवानपुर–१ बाट प्रतिनिधिसभाको समानुपातिकतर्फ नेता विष्णु लामिछाने, कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने, नेता गोपीलाल विक, नेतृ पवित्रा विक, नेता सुवातसिं थिङ, नेतृ गीता राई, नेतृ सञ्जिता सिग्देल, नेता सुदिप वर्तौला, नेता राजकुमार जीएम र नेता नारायण लम्सालाको नाम जिल्ला समितिलाई सिफारिस गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*