भदौ १२ गतेबाट मकवानपुरमा ‘जनताको साथमा काङ्ग्रेस’ अभियान शुरु

बकैया दर्पण संवाददाता
१० भाद्र २०७९, शुक्रबार १३:५२

मकवानपुर । नेपाली काङ्ग्रेस मकवानपुरले भाद्र १२ गतेबाट ‘जनताको साथमा काङ्ग्रेस’ अभियान शुरु गर्ने भएको छ ।

सत्तारुढ काङ्ग्रेसले आगामी मंसिर ४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलक्षित अभियान चलाउन लागेको हो । भाद्र ४ गते बसेको केन्द्रिय समितिको बैठकले भाद्र १० गतेबाट देशैभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने निर्णय अनुसार ७७ वटै जिल्लामा यो अभियान चल्ने काङ्ग्रेसले जनाएको छ । अभियानका लागि यसअघि नै केन्द्रीय प्रतिनिधि ७७ वटै जिल्लामा पठाइसकेको छ । मकवानपुरमा भने २ दिन ढिला गरी अभियान शुरु गरिने भएको हो ।

अभियान २४ गतेसम्म चल्ने काङ्ग्रेसले बताएको छ ।

मकवानपुरमा भाद्र १२ गते १०२ वडाहरुमा एक साथ भेला गरेर अभियान शुरु हुने काङ्ग्रेस मकवानपुरले जनाएको छ । यसैगरी १५ गते गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकामा भेला हुनेछ । १६ गते काङ्ग्रेसका केन्द्रिय सदस्यसमेत रहेका नेता प्रदिप गिरीको निधन भएको १३ औँ दिनको तिथि पारेर श्रद्धाञ्जली कार्यक्रम गर्ने, १८ गते सङ्घ र प्रदेशको भेला र अन्तरक्रिया गर्ने, २१,२२ र २३ गते वडा, पालिका र सङ्घ र प्रदेशको रिपोर्टको आन्तरिक छलफल गर्ने र २४ गते बृहत भेला गरी यो अभियान समापन गरिने कार्यतालिका काङ्ग्रेस मकवानपुरले सार्वजनिक गरेको छ ।

काङ्ग्रेस मकवानपुरमा केन्द्रिय सदस्य उमेश श्रेष्ठलाई प्रतिनिधिको रुपमा केन्द्रले खटाएको छ ।
अभियानका क्रममा जनताका समस्या सुन्ने, सरकारले गरेको कामको जानकारी गराउने र सत्तारुढ गठबन्धनका दलहरुबीच तालमेलको औचित्य पुष्टि गर्ने काङ्ग्रेसले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*