हेटौँडाका वडाध्यक्ष सिग्देलले लामालाई दिए क्षमा

बकैया दर्पण संवाददाता
९ भाद्र २०७९, बिहीबार १२:१६

हेटौँडा उपमहानगरपालिकाको ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देलले आफूलाई कार्यकक्षमै कुटपिट गर्ने सानु लामा दोङलाई माफी दिँदै जाहेरी स्थगित गर्न प्रहरीलाई अनुरोध गर्नुभएको छ । आज पत्रकार सम्मेलन गर्दै उहाँले आफूमाथि हातपात गर्ने लामालाई क्षमा दिएको जानकारी दिनुभएको हो ।

उहाँले हिजो नै मकवानपुरका प्रहरी प्रमुख एसपी वामदेव गौतमलाई जाहेरी स्थगित गर्न आफूले अनुरोध गरिसकेको बताउनुभयो । कारबाही नै सबैथोक नभएको भन्दै गलत कार्य गर्नेलाई सच्चिन मौका दिएको उहाँले बताउनुभयो ।

घटना नदोहोरियोस् र एउटा चेतावनी रहोस् भनेर जाहेरी स्थगित गरेको र फेरि घटना दोहोरिए कारबाही प्रक्रिया अगाडि बढाउने उहाँले बताउनुभयो । वडाध्यक्ष सिग्देलले कसैको दबाब र डरमा नपरी स्थगित गरेको उहाँले बताउनुभयो ।

एमाले मकवानपुरका सचिवसमेत रहनुभएका सिग्देललाई हेटौँडाका सानु लामा दोङले कार्यकक्षमै कुटपिट गरेको भन्दै सिग्देलले मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा लामाविरुद्ध उजुरी दिनुभएको थियो ।
४ नम्बर वडाभित्र रहेको भुटनदेवी स्कुलको सटरको टेण्डर विषयमा विवाद हुँदा उहाँमाथि कुटपिट भएको थियो । उहाँले सटरको टण्डरमा आफ्नो कुनै संलग्नता नरहेको र सटरको विषयमा समाचार लेखाएको विषयमा आफूमाथि आरोप लगाएकाले विवाद उत्पन्न भएको बताउनुभयो । वडा कार्यालयले सटरको टेण्डर तत्काल स्थगित गर्न भुटनदेवी उच्च माविलाई पत्र काटेको उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*