जिसस मकवानपुरको प्रमुखमा घलानसहित गठबन्धनको प्यानलै विजयी

बकैया दर्पण संवाददाता
२ असार २०७९, बिहीबार १४:५०

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको प्रमुखमा ललित बहादुर घलान विजयी हुनुभएको छ । बिहीबार भएको निर्वाचनबाट घलान विजयी हुनुभएको हो । स्थानीय तह निर्वाचनमा सत्तारुढ दलबीचको गठबन्धनको उम्मेदवारको रुपमा नेकपा माओवादी केन्द्रका घलान १७ मतसहित विजयी हुनुभएको हो । जिसस प्रमुखमा घलानसहित उपप्रमुख र सदस्यहरुमा गठबन्धनको प्यानलै विजयी भएको छ ।

हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडा अध्यक्षको पदबाट राजिनामा दिएर घलानले जिसस प्रमुखमा उम्मेदवारी दिनुभएको थियो । जिसस प्रमुखकै आकांक्षी नेकपा एमालेबाट बुद्धिराम डिम्डुङले ३ मत मात्रै पाउनुभयो । यस्तै जिसस उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका सानुकाजी लुइटेल विजयी हुनुभएको छ । उहाँको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित हुनुभएको हो ।

महिला सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसकी तारा ढुंगाना (१७ मत), विष्णुमाया थपलिया (१७ मत) र सुमित्रा थिङ (१७ मत) निर्वाचित हुनुभएको छ । नेकपा एमालेबाट बिना कुमारी थिङ लामाले (३ मत) पराजित हुनुभएको छ । दलित सदस्यमा नेकपा एकीकृत समाजवादीबाट सुनिता दर्नाल परियारको एकल उम्मेदवारी परेको थियो । उहाँ पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।

खुलातर्फ ३ जना सदस्यमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका वीरेन्द्र कुमार लामा (१६ मत), नेकपा माओवादी केन्द्रबाट खड्क बहादुर पुलामी (१७ मत) र सुवर्ण गोपाली (१७ मत) विजयी हुनुभएको छ । नेकपा एमालेका तोयानाथ तिमल्सिना (३ मत) पराजित हुनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*