नीति तथा कार्यक्रम बहुमतले स्वीकृत

बकैया दर्पण संवाददाता
२० जेष्ठ २०७९, शुक्रबार १०:१६

मकवानपुर । बागमती प्रदेश सभाको २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम बिहीबार बसेको प्रदेश सभा बैठकमा बहुमतले स्वीकृत गरेको छ । प्रमुख प्रतिपक्ष दलले नीति तथा कार्यक्रमप्रति असन्तुष्टी जनाएपनि प्रदेश सभाको बहुमतले नीति तथा कार्यक्रम स्वीकृत गरेको सभामुख सानु कुमार श्रेष्ठले घोषणा गर्नुभएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले नीति तथा कार्यक्रमको छलफलमा उठेको विषयहरुको जवाफ दिनुभएपछि बहुमतले नीति तथा कार्यक्रम स्वीकृत गरेको हो । छलफलमा उठेका विषयमाथि जवाफ दिँदै मुख्यमन्त्री पाण्डेले सदस्यहरुबाट पाएको रचनात्मक सुझावलाई सकारात्मक रुपमा लिएको जानकारी गराउनु भएको छ ।

प्राप्त सुझावका आधारमा नीति तथा कार्यक्रम अझ बढी परिस्कृत र विशेष बनाउने उहाँले बताउनुभयो । प्रदेश सभा सदस्यहरुले नीति तथा कार्यक्रममा लक्ष्य र प्राथमिकता नदेख्नु भएको भन्दै उहाँले पुनः अध्ययन गर्न अनुरोध गर्नुभयो । प्रतिपक्ष भएकोले विरोध जनाउनु पर्छ, समर्थन गर्नु हुँदैन भन्ने सोचले सकारात्मक बाटोमा हिड्न नदिने भन्दै सकारात्मक भएर सल्लाह दिन प्रदेश सभा सदस्यहरुलाई अनुरोध गर्नुभयो ।

उहाँले ११९ वटा पालिकाका कमसेकम एक–एक वटा वडाबाट समाजवादी कार्यक्रम सुरु गर्न सके उदाहरणीय कामको थालनी हुने कुरा सभाले किन बुझ्न सकेन भन्दै प्रश्न गर्नुभयो । प्रदेश सभा सदस्यहरुले राखेको विषय नीति तथा कार्यक्रममा समेटेको भन्दै उहाँले बाँकी रहेका योजनाहरु बजेटमा समेटिने जानकारी दिनुभयो । प्रदेश सभाको अर्को बैठक जेठ ३१ गते बस्ने गरी बैठक स्थगित भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*