हेटौंडामा मतगणना सम्पन्न,मेयरमा मीना लामा निर्वाचित

बकैया दर्पण संवाददाता
७ जेष्ठ २०७९, शनिबार १०:०८

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा मतगणना कार्य सम्पन्न भएको छ । गत बैशाख ३१ गतेदेखि सुरु भएको मतगणना कार्य शुक्रबार राति सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।

सम्पन्न मत गणना अनुसार, हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा मीना कुमारी लामा निर्वाचित भएकी छिन् । लामो समय नेकपा एमालेको लालकिल्लाको रुपमा रहेको हेटौंडामा सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार लामा निर्वाचित भएकी हुन् ।

लामाले आफ्नो प्रतिस्पर्धी एमालेका उम्मेदवार अनन्तप्रसाद पौडेललाई २ हजार १७२ मतले पराजित गरेकी हुन् । लामाले २३ हजार ८० मत प्राप्त गर्दा पराजित पौडेलले २० हजार ९०८ मत प्राप्त गरेका छन् । यस्तै, मेयर पदका उम्मदेवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिपकबहादुर सिंहले २० हजार ५३१ मत प्राप्त गरेका छन् ।

हेटौंडाको मेयर पदका लागि १८ जनाको उम्मेदवारी परेको थियो । जसमा मौलिक जरोकिलो पार्टीकी सृजना बर्तौलालाई ८४ मत, उन्नत लोकतन्त्र पार्टीका अयोध्या कुमार भट्टराईलाई ४० मत, नेपाल मजदुर किसान पार्टीका रमेश मान सिंहलाई ३४ मत, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी) का केशव घर्तीलाई २४ मत, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका संजिव खराललाई १० मत, सचेत नेपाली पार्टीका रामप्रसाद गौतमलाई ७ मत प्राप्त भएको छ ।

यसैगरी, मेयर पदमा स्वतन्त्र उम्मेदवार लिला कुमारी आचार्यलाई ६७ मत, देवराज पौडेललाई ४१ मत, उत्तर कुमार दुलाललाई ४ मत, पुरुषोत्तम रुपाखेतीलाई ४ मत, विश्वनाथ पाण्डेलाई २ मत, कविराज पाठकलाई १ मत प्राप्त भएको छ भने नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) का उम्मेदवार रोमनाथ भूर्तेल, स्वतन्त्र उम्मेदवार प्रदिप ढकाल र संजय खरेलले एक मत पनि पाएका छैनन् ।

यस्तै, हेटौंडा उपमहानगरपालिकाको उपमेयरु पदमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका राजेश बानियाँ निर्वाचित भएका छन् । बानियाँ ३२ हजार ५ सय ९३ मतसहित उपमेयर पदमा निर्वाचित भएका हुन् । बानिँयाका निकट्तम प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्लेलाई २३ हजार ९०६ मत र राप्रपाकी इन्दिरा न्यौपानेलाई ५ हजार ४८६ मत प्राप्त भएको छ ।

हेटौंडाको १९ वटा वडामध्ये नेकपा एमालेले ९ वटा, नेपाली कांग्रेसले ८ वटा, नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रले एक/एक वडा जितेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*