हेटौँडामा राप्रपाको अग्रताले एमालेलाई सकस

बकैया दर्पण संवाददाता
३ जेष्ठ २०७९, मंगलवार ०७:२५

मकवानपुर । हेटौँडा उपमहानगरपालिका तीन दशकदेखि नेकपा एमालेले लगातार जित्दै आएको स्थान हो । यसअघि भएको तीनपटकको निर्वाचनमा लगातार हेटौँडामा कब्जा जमाउँदै आएको एमालेले हेटौँडालाई आफ्नो लालकिल्ला बताउँदै आएको छ।
२०७४ को निर्वाचनमा पनि हेटौँडाको मेयर, उपमेयरसहित १९ वडामध्ये १२ वडा जितेको एमालेले यो निर्वाचनमा पनि राम्रो मत पाउने अपेक्षा गरेको थियो । तर, हेटौँडा उपमहानगरपालिकाको ३ वटा वडाको मतगणना सम्पन्न भई ६ वटा वडाको मतगणना जारी रहँदासम्म एमाले तेस्रो स्थानमा सीमित बनेको छ ।
एमालेले आफ्नो भोट बैंकको रुपमा लिदै आएको ४ नम्वर वडाबाट पनि राम्रो मत पाउन सकिरहेको छैन । शनिबार मतगणना सुरु भएदेखि नै दोस्रोमा रहदै आएको एमाले आइतबारदेखि तेस्रोमा सीमित बन्न पुगेको छ । आईतबार दिउँसोको मतगणनामा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी मीना लामासँग केही समय प्रतिष्पर्धामा उत्रिएको एमाले अहिले निरन्तर रुपमा भारी मतान्तरले तेस्रोमा झर्दै आएको हो ।
राप्रपाका उम्मेदवार दिपक बहादुर सिंहले अनपेक्षित रुपमा अग्रता लिएसँगै एमाले उम्मेदवार अनन्त पौडेल पछि परेका छन् । उनी गठबन्धनकी उम्मेदवार लामाभन्दा करिव ८ सय मतले पछि परेका हुन् । गठबन्धन आफ्नो प्रतिस्पर्धी नै बन्न नसक्ने बताउदै आएका पौडेल नै पछिल्लो मतगणनामा प्रतिष्पर्धामा आउन सकेका छैनन् ।
२०७४ को स्थानीय निर्वाचन यता नेकपा एमाले पार्टी विभाजन भएको भएपनि हेटौँडामा त्यसको ठूलो असर परेको थिएन। त्यसमा पनि एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपालको समर्थन लिएर पार्टीको क्षति परिपूर्ती गरेको बताएको थियो ।
यता, कमल थापाले छोडेको राप्रपाबाट उम्मेदवार बनेका दीपक सिंह हेटौँडाको मेयरमा कडा प्रतिष्पर्धामा उत्रिनुले पनि हेटौँडाको माहोललाई तताएको छ । थापाको गृह नगरमा उनले छोडेको पार्टीबाट उठेका सिंहले थापाकै समर्थन रहको एमालेलाई पछि पार्नु पनि राप्रपाले एउटा सफलताको रुपमा लिएको बुझिएको छ ।
एमालेलाई उछिनेर प्रतिष्पर्धामा उत्रिनु गठबन्धनको लागि पनि सहज थिएन। एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीकी मीना लामालाई उम्मेदवार बनाएको गठबन्धनले हेटौँडामा एमालेसँगको मतान्तरलाई कायम राख्दै आएको छ । एमालेको लाल किल्लामा उसैलाई पछि पार्दै राप्रपा र गठबन्धनको प्रतिस्पर्धाले हेटौँडाको चुनावी मतगणना रोचक बन्दै गएको छ ।
अहिलेसम्मको मतगणनामा गठबन्धन र राप्रपा बलियो देखिएको भएपनि अझै एमालेको बलियो पकड रहेको वडाहरु गन्न भने बाँकी नै रहेको छ ।
ती वडामा पनि एमालेले ४ नम्वर वडामा जस्तै अपेक्षाकृत मत पाउन नसके यो निर्वाचनमा एमालेको लालकिल्ला तोड्दै गठबन्धन वा राप्रपाले नयाँ इतिहास रच्ने सम्भावना देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*