मधु अधिकारी गठबन्धनको पक्षमा उभिए

बकैया दर्पण संवाददाता
२४ बैशाख २०७९, शनिबार १८:२५

मकवानपुर । तीन दशकभन्दा बढी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा रहेर सक्रिय राजनीति गरेका मधु अधिकारी पार्टी परित्याग गरे लगतै गठबन्धनको पक्षमा उभिएका छन् । हेटौंडा–४ मा गठबन्धनले प्रदर्शन गरेको ¥यालीपछि परिणत कोणसभालाई अधिकारीले आज सम्बोधन समेत गरेका छन् । शुक्रबार राप्रपा परित्याग गरेका अधिकारी गठबन्धनको पक्षमा उभिँदै गठबन्धनका उम्मेदवारहरुलाई अत्याधिक मतसहित विजयी गराउन आग्रह गरेका थिए ।

उनले कोणसभालाई सम्बोधन गर्दै गठबन्धनको जित भनेको संविधानको जित हुने बताए । गठबन्धनले जितेमा संविधानको रक्षा हुने र त्यसका लागि पनि गठबन्धनको जित आवश्यक रहेको अधिकारीले दाबी गरे । ‘संविधानलाई संकटमा लैजान खोज्ने एमालेले चुनाव जित्न सक्दैन ।’ उनले भने, ‘एमालेलाई सँधैका लागि पाखा लगाउन र संविधानको रक्षाका लागि पनि गठबन्धनले जित्न जरुरी छ ।’

गठबन्धन एकजुट भएर एमालेलाई पत्तासाफ गर्नुपर्ने उनले बताए । हेटौंडा उपमहानगरको मेयरका उम्मेदवार मिना लामा, उपमेयरका उम्मेदवार राजेश बानियाँले जितेमा र गठबन्धनका सबै उम्मेदवारले जितेमा सहरको विकासलाई तीब्र गतिसँगै योजनासहित अघि बढाउन सकिने उनको भनाइ थियो ।

उनले राप्रपाका उम्मेदवार दीपक सिंहप्रति केन्द्रीत गर्दै चिल्लो गाला र ठूलो ज्यान हुँदैमा जनताले विश्वास गर्ने र हेटौंडा उपमहानगरको विकास गर्न सक्छु भन्दै जनतालाई भ्रममा नपार्न चेतावनी दिए । ‘चिल्लो गाला र ठूलो ज्यान हुँदैमा चुनाव जित्न सकिँदैन ।’ उनले भने, ‘यो कुरालाई बुझ्न जरुरी छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*