कांग्रेसबाट राजेश बानियाँ उपमेयरको उम्मेदवार

हेटौंडा–२ मा कांग्रेसका ३ नेताद्वारा अध्यक्षमा उम्मेदवारी दर्ता
बकैया दर्पण संवाददाता
१२ बैशाख २०७९, सोमबार १२:२९

नेपाली कांग्रेसले हेटौंडाको उपमेयरमा राजेश बानियाँलाई अगाडि सारेको छ ।

नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय समितिको वैठकले बानियाँलाई उपमेयरको उम्मेदवारी बनाउने निर्णय गरेको हो । सत्तारुढ गठबन्धनले मेयरमा नेकपा एसका मीना लामालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । बानियाँ हेटौंडा–५ का वडा अध्यक्ष समेत हुन् । उनले अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेको आधार क्षेत्र मानिएको स्थानमा विजयी हात पार्दै मकवानपुरे राजनीतिमा पाइला चालेका थिए । उनी कांग्रेस क्षेत्रीय सभापति समेत हुन् ।

यसैबिच, नेपाली कांग्रेस हेटौंडा–२ मा टिकटको विषयलाई लिएर विवाद बढेको छ ।
विवाद बढेसँगै कांग्रेसका तीनजना नेताले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसको तर्फबाट दुईजनाले टिकट पाएपछि विवाद बढेको अवस्थामा अघिल्लो स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित सुदिप राजबाहकले पनि उम्मेदवारी दिएका हुन् । कांग्रेसले विष्णुगोपाल महर्जन र रविन्द्र घिमिरेलाई टिकट दिएपछि विवाद बढेको थियो ।

दुवैजनाले आफू आधिकारीक उम्मेदवार रहेको दावी गर्दै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरिसकेका छन् । टिकटको विषयमा लिएर कांग्रेस हेटौंडा २ मा लामो समयदेखि विवाद जारी रहेको थियो । करिब एक दर्जन वडाअध्यक्षको दावी गरेपछि विवाद टुंग्याउने जिम्मेवारी पार्टीको माथिल्लो निकायलाई दिइएको थियो ।

स्रोतका अनुसार कांग्रेस सभापति बुद्ध लामाले घिमिरे र संघीय सभापति दामोदर खनालले महर्जनलाई टिकट दिएका हुन् । दुवैले प्राप्त गरेको टिकटमा कांग्रेस वाग्मती प्रदेश महामन्त्री कञ्चनचन्द्र वादेको हस्ताक्षर रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*