निर्वाचनमा नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द हुने

बकैया दर्पण संवाददाता
१० बैशाख २०७९, शनिबार १०:४१

काठमाडौं । यहि वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ ।

दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले सीमा नाका बन्द गर्ने निर्णय गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी लालाबाबु कवाडीले जानकारी दिनुभयो । भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले स्थानीय निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

खुल्ला सीमा नाकाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि सीमा नाका बन्द गर्न लागिएको हो । बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको अतिक्रमण, दशगजाको व्यवस्थापन, दुईपक्षको आन्तरिक सुरक्षा, तस्करी, लागुऔषध र मदिरा ओसारपसार नियन्त्रणलगायतका विषयमा पनि छलफल भएको छ।

बैठकमा सिरहातर्फको नेतृत्व प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले गर्नुभएकाे थियाे। साथै भारततर्फको नेतृत्व मधुवनी जिल्लाका डिएम अमित कुमारले गर्नुभएकाे थियाे ।

बैठकमा प्रमुख जिल्ला अधिकारी कवाडीसहित धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र महोत्तरीका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललगायत चारै जिल्लाका सुरक्षा निकायका प्रमुखहरु समेत सहभागी भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*