केन्द्रीय सहमति नमान्ने कांग्रेस इतर समूहको अडान

बकैया दर्पण संवाददाता
८ बैशाख २०७९, बिहीबार १०:३४

मकवानपुर । बागमति प्रदेशको राजधानी हेटौंडाको मेयरमा नेकपा ९एस० लाई अगाडि बढाउने सहमति सत्तारुढ दलभित्र भएसँगै नेपाली कांग्रेस मकवानपुरका संस्थापन इतरका पदाधिकारीहरुले विरोध जनाएका छन् । कांग्रेस मकवानपुर पदाधिकारीमा पाँचजना संस्थापन इतर समूहका छन् ।
हेटौंडा–२ स्थित कांग्रेस पार्टी कार्यालयमा इतर समूहका जिल्ला पदाधिकारी तथा पूर्वसभापतिहरुले पत्रकार सम्मेलन गर्दै केन्द्रीय नेतृत्वले सहमतिबारे पुनरावलोकन नगरे ‘केन्द्रीय सहमति’ अमान्य हुने बताएका छन् । ‘केन्द्रले गरेको निर्णय पुनरावलोकन नगरी यथास्थितिमा निर्वाचनमा जाँदा गठबन्धनको आवश्यकता, औचित्य र मर्मविपरित परिणाम आएमा त्यसप्रति हामी र आम कांग्रेस कार्यकर्ता जिम्मेवार र जवाफदेही नहुने स्पष्ट पार्दछौं ।’, उपसभापति आनन्द कठायतले भने । उनीहरुले कांग्रेसले एकल उम्मेदवार खडा गरेर निर्वाचनमा होमिने चेतावनी समेत दिएका छन् ।
‘केन्द्रको निर्णय परिवर्तन नभए नगर समितिका पदाधिकारी तथा नगरका १९ वटै वडा सभापतिहरुको निर्णयअनुसार सत्ता साझेदार गठबन्धनका दलहरुसँग मित्रवत् प्रतिस्पर्धाको आधारमा कांग्रेस एकल नेतृत्वमा चुनावी प्रतिस्पर्धामा सहभागी हुनेछ ।’, उनले भने, ‘गठबन्धन दलहरुबीच भागबण्डाको विषयमा छलफल चलिरहँदा पार्टीको केन्द्रीय कार्यसमितिले हेटौंडाको वस्तुगत अवस्थाबारे जानकारी नलिइ कार्यकर्ताको मर्म र भावनालाई पूर्णरुपमा वेवास्ता गर्दै गरेको सहमतिप्रति हाम्रो पूर्ण असमर्थन छ ।’

कांग्रेसको तर्फबाट हेटौंडाको मेयरको उम्मेदवारमा पार्टी पूर्वसचिव आनन्दराम पराजुली र नेविसंघ पूर्वमहामन्त्री प्रभातकुमार दाहालको नाम चर्चामा थियो । नेकपा समाजवादीको तर्फबाट जिल्ला अध्यक्ष श्रीधर पोखरेल र हेटौंडाकी उपमेयर मीना लामाको नाम सिफारिस भएको छ । हेटौंडामा माओवादी केन्द्रको भने दावी थिएन ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेस एमालेसँग ६ सय १५ मतान्तरले पराजित भएका कारण आफूले नेतृत्व पाउनुपर्ने दावी इटेनीको छ । यसै विषयलाई लिएर कांग्रेसका असन्तुष्ट युवा नेताहरुले पार्टी कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।
नेकपा एमालेको तर्फबाट हेटौंडाको मेयरमा तीनजनाको दावी रहेको छ । एमाले र राप्रपा नेपालवीच चुनावी गठबन्धन भएका कारण उम्मेदवारको स्पष्ट खाका अझै आइसकेको छैन । हेटौंडा राप्रपा नेपाल अध्यक्ष कमल थापाको गृह नगर हो । एमालेले मेयरको उम्मेदवारको रुपमा मेयर हरिबहादुर महत, संविधानसभा सदस्य अनन्त पौडेल र गणेशकुमारी श्रेष्ठको नाम माथिल्लो निकायमा सिफारिस गरेको छ । एमाले र राप्रपावीच भागबण्डा मिलेपछि प्रतिपक्षी गठबन्धनको उम्मेदवारीको स्पष्ट खाका अगाडि आउने नेताहरु बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*