चुनावी प्रचारमा एमाले ५ नम्बर वडा

बकैया दर्पण संवाददाता
५ बैशाख २०७९, सोमबार १५:०२

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी एमाले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ कमिटी स्थानीय तहको निर्वाचनको तयारी तथा प्रचारप्रसारमा लागेको छ ।

आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडाको लागि सर्वसम्मत उम्मेदवार भएको टिमले चुनावी प्रचारप्रसार सुरू गरेको हो । एमालेबाट हेटौंडा ५ को वडा अध्यक्षको उम्मेदवारको रूपमा सुशिल घिमिरे यस अघि नै निर्विरोध चयन भएका छन् । सदस्यहरूमा ज्ञानबहादुर थापा, रामबहादुर राई, रन्जिता सिलवाल र पार्वती बिक चयन भएका छन् ।

वडा समितिले उक्त टिमलाई जिताउन प्रचारप्रसारका लागि वडाको बिभिन्न टोल टोलमा पुग्ने कार्य तालिका समेत तय गरेको छ । वडा समितिले मंगलबार बिहानबाट आगामी १० गतेसम्म पार्टीको प्रचारप्रसार तथा सम्पर्क कार्यालय खोल्ने छ । यस अन्तर्गत प्रत्येक टोल टोलमा वा संयुक्तरूपमा कार्यालय खोलिने छन् । वडाको विभिन्न ५ वटा टोलमा सम्पर्क तथा प्रचारप्रसार कार्यालय खोलिसकेको छ । अब १० वटा यस्ता कार्यालय खोलिने छन् जसबाट मतदातालाई सम्पर्क गर्न गतिविधिबारे जानकारी लिन समेत सहज हुनेछ ।

एमालेले वडामा गठन गरेको विभिन्न टोल कमिटीहरूमा आवद्वहरूलाई १० गते दिउँसो चुनावी प्रशिक्षणात्मक कार्यक्रम सहित सपथ ग्रहण गराउने छ । वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता कार्यक्रमपछि १३ गतेबाट टोल टोलमा ब्यवस्थित रूपमा घरदैलो कार्यक्रम गरिने पार्टीका वडा अध्यक्षका उम्मेदवार सुशिल घिमिरेले बताए ।

‘यो बिचमा वडाका सामाजिक व्यक्तित्वहरूको सहकार्यमा वडाको सुन्दर भबिष्य निर्माणका निम्ति कार्य योजनाहरू बनाइने काम पनि जारी छ’ अध्यक्षका उम्मेदवार घिमिरेले भने । टोलको बिकास निर्माण, आर्थिक समृद्धि तथा सामाजिक परिवर्तनको लागि एमालेको स्पष्ट दृष्टिकोण रहेको र त्यसै अनुरूप पार्टीको घोषणापत्र र उम्मेदवारको तर्फबाट स्थानीय तहको प्रतिबद्धता पत्र आउने उनले बताए ।

चुनावी तयारी स्वरूप विभिन्न उपसमिति समेत तय भएको र सबै समितिले आफ्नो काम थालेको पार्टी वडा अध्यक्ष पदमबहादुर बजगाईंले बताए । स्थानीय क्षेत्रको आवश्यकतालाई सम्बोधन गर्नेगरि स्थानीयवासीकै सल्लाह तथा समन्वयमा नेकपा एमालेले पांच बर्षे योजनाहरू बनाएको नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा नगर सह इन्चार्ज ईश्वर ढुङ्गानाले बताए । ‘वडाको समृद्धिको लागि हामीले धेरै मेहनत गरेर योजनाहरू बनाइ रहेका छौ, जसलाई एमालेको टिमले पुरा गरेर देखाउने छ’ वडा ५ का स्थानीयवासी समेत रहेका पार्टी सचिवालय सदस्य ढुङ्गानाले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*