हेटौंडा चिकित्सक कुटपिट प्रकरणमा पक्राउ परेका ६ जना धरौटीमा रिहा

मकवानपुर । जिल्ला अदालत मकवानपुरले चिकित्सकमाथि कुटपिट गरेको आभियोगमा पक्राउ परेका ६ जनालाई धरौटीमा रिहा गरेको छ ।
गत भदौं २७ गते हेटौंडा उपमहानगरपालिका–१ स्थित सन्चो हस्पिटलमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका ६ जनालाई धरौटीमा रिहा गरिएको हो ।
जिल्ला अदालत मकवानपुरका न्यायाधीश राजेन्द्र अधिकारीको इजलाशले आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएका हुन् । पक्राउ परेका रमा प्रधान २ लाख ५० हजार रुपैयाँ तथा रमिला प्रधान, रोहन प्रधान, अनुप प्रधान, जीवन लामा तथा सुनिल पाख्रीन जनही २–२ लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।
यसैबिच उक्त घटनाका अर्का आरोपित हेटौंडा–१२ का ३६ वर्षीय सुवास स्याङ्तानलाई मकवानपुर प्रहरीले बुधबार पक्राउ गरेको छ । स्याङ्तानलाई हेटौंडा–१० बसपार्कबाट पक्राउ गरिएको हो ।
उक्त घटनामा संलग्न १३ जनाविरुद्ध परेको उजुरीमा अझै ६ जना फरार रहेको र उनीहरुको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।