मनोचिकित्सा वार्ड हेटौंडा अस्पतालमा संचालन हुँदै

बकैया दर्पण संवाददाता
२४ आश्विन २०८०, बुधबार १०:२६

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा मनोचिकित्सा वार्ड संचालन हुने भएको छ ।

मानसिक रोगबाट प्रभावित बिरामीहरुलाई लक्षित गरी मनोचिकित्सा वार्ड संचालनको तयारी गरेको हेटौंडा अस्पतालमा मेडिकल सुपेरिटेण्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए ।

उनका अनुसार, हेटौंडा अस्पतालमा २५ शय्या क्षमताको मनोचिकित्सा वार्ड संचालन गर्न लागिएको हो । अस्पतालको पुरानो भवनमा महिला र पुरुषलाई छुट्टाछुट्टै राख्न मिल्ने गरी मनोचिकित्सा वार्ड संचालनमा ल्याउने तयारी गरिएको हो ।

आगामी मंसिरदेखि पूर्ण क्षमतामा सेवा प्रवाह गर्ने योजना रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिष्ट्रार राजेश प्रसाईले जानकारी दिए ।

सो वार्ड संचालनका लागि एक जना विशेषज्ञ चिकिकित्सक नियुक्त भइसकेको र थप एक जना विशेषज्ञ चिकित्सकका लागि आवेदन खुला गरिएको उनले बताए ।

हेटौंडा अस्पतालले मानसिक स्वास्थ्य उपचारका लागि २ बजेदेखि ५ बजेसम्म विस्तारित ओपीडी सेवा संचालन गर्ने योजना बनाइरहेको उनले बताए ।

प्रतिष्ठानको प्राविधिक सहयोगमा हेटौंडामा रहेको मानव सेवा आश्रममा ३० शय्या क्षमताको मानसिक स्वास्थ्य पुर्नस्थापना केन्द्र स्थापनाको तयारीसमेत भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*