चेपाङ समुदायले छोनाम पर्व मनाउँदै

बकैया दर्पण संवाददाता
२२ भाद्र २०८०, शुक्रबार १२:१०

मकवानपुर । आज चेपाङ समुदायले छोनाम अर्थात् न्वागी पर्व मनाउँदै छन् । छोनाम पर्व चेपाङ समुदायको प्रमुख धार्मिक पर्व हो ।

छोनाम पर्व हरेक वर्ष भदौ २२ गते पर्दछ । चेपाङ समुदायमा पितृलाई नचढाइ र पूजा नगरि नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । छोनाम पर्वका दिन आज घैया धानको चामल, पिँडालु, निबुवा, घिरौलालगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्न खाने दिन पनि हो ।

वर्ष दिनमा कम्तीमा नौ महिना जङ्गली कन्दमूल र सिस्नो खाएर बस्ने चेपाङ जातिले आज मिठोमसिनो खाएर मुख फेर्ने गर्छन् भन्ने भनाइ पनि रहिआएको छ । चेपाङ जातिले पाखापखेरामा लगाएका मकैलगायत फलफूल भदौमा पाक्ने भएकाले छोनाम पर्व यही महिना मनाउने गरिएको इतिहास छ ।

छोनाम पर्वका दिन चेपाङहरुले कुनै पनि काम नगरि रमाइलो गर्नेगर्छन् । नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । छोनाम पर्व चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको मानिन्छ । यस पर्वलाई चेपाङ समुदायले आफ्नो मौलिक भाषामा छोनाम भन्छन् भने खस नेपाली भाषामा न्वागी भनिन्छ । नेपालमा ८४ हजार तीन सय ६४ जना चेपाङ छन् ।

सबैभन्दा धेरै चितवनमा मात्रै ३५ हजारको हाराहारीमा चेपाङ समुदायका मानिस बसोबास गर्छन् । चेपाङ राप्ती नदी उत्तर, त्रिशूलीपूर्व उठेको महाभारत पर्वत शृङ्खला वरिपरिको रैथाने बासिन्दा मानिन्छन् । मकवानपुर पश्चिम, चितवन उत्तर र धादिङका दक्षिणी भेगमा चेपाङ समुदायको बसोबास छ ।

चेपाङको राष्ट्रिय पर्व छोनामका अवसरमा बाग्मती प्रदेश सरकारले आज चितवन, मकवानपुर र धादिङमा सार्वजनिक बिदा दिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*