मुख्यमन्त्रीको : निर्देशन करार कर्मचारीका लागि सामाजिक सुरक्षा कार्यक्रम लागू गर्नु

बकैया दर्पण संवाददाता
१६ श्रावण २०८०, मंगलवार १०:५१

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशमा रहेका करारका कर्मचारीको भविष्य सुनिश्चितताका लागि सामाजिक सुरक्षा कार्यक्रम लागू गर्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समीक्षा बैठकमा उनले स्थायी कर्मचारीको पेन्सन तथा उपदान हुने तर, करार कर्मचारीको जागिर छोड्दा वा अशक्त हुँदा हातमा केही नहुने भएकोले यो कार्यक्रम यही साउन महिनादेखि अनिवार्य लागू गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री जम्मकट्टेलले बागमती प्रदेश सुशासन केन्द्रलाई तालिम दिने क्रममा उपलब्धिको पनि लेखाजोखा राख्न सुझाव दिए । राज्यकोषबाट खर्चिएको रकम उपलब्धिमा परिणत हुनैपर्ने बताउँदै उनले तालिम पछिको उपलब्धि हेर्न पनि विशेष जोड दिए ।

त्यसैगरी, उनले प्रदेश नीति तथा योजना आयोगलाई मन्त्री एवम् सचिवहरूको टेबलमा अटाउने खालको प्रभावकारी योजना पेस गर्न निर्देशन दिए । बजेट बन्दा संयोगले आयोगको योजना पर्ने बाहेक योजनाको ठेलीमा कसैको आँखा नजाने तितो यथार्थ रहेको भन्दै यसलाई सुधार गर्न प्रभावकारी योजना टेबलमा राख्न मिल्ने बनाउन उनले सुझाव दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*