ओलीलाई प्रचण्डको जवाफ– हुन्छ, हेर्छु, हेरौँला !

बकैया दर्पण संवाददाता
१५ श्रावण २०८०, सोमबार १२:२३

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)ले माग गरेजस्तो उच्चस्तरीय छानबिन समिति गठन गर्ने विषयमा आनाकानी गरेका छन् ।

सोमबार बालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तामा उनले समिति बनाएर संसद्को अवरोधलाई अन्त्य गर्न आनाकानी गरेको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको करिब १०० किलो सुन तस्कारी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने एमालेको माग छ ।

“प्रधानमन्त्रीलाई अध्यक्षज्यूले क्विटल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाएर अघि बढौँ, अनि मात्र संसद्को गतिरोध अन्त्य हुन्छ भन्नुभयो,” गिरीले बाह्रखरीसँग भने, “तर, उहाँले ठोस जवाफ दिनु भएन । हुन्छ, हेर्छु, हेरौँला जस्तो जवाफ दिनुभयो ।”

सो प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता रहेको आशंका गर्दै गिरीले उच्चस्तरीय छानबिन समिति बनाएर अघि बढ्नुपर्ने एमालेको ‘बटमलाइन’ भएको सुनाए ।

समिति बनाउने विषयमा प्रधानमन्त्री प्रचण्डले स्पष्ट जवाफ र प्रतिबद्धता नजनाएकाले आजको प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध गर्ने एमालेको तयारी छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्ने कार्यसूची छ ।

“हामीले भनेजस्तै उच्चस्तरीय छानबिन समिति नबनेसम्म वातावरण सहज बन्दैन,” गिरीले भने ।

सोही विषयमा यही साउन १० गतेको प्रतिनिधिसभा बैठक सञ्चालनमा पनि एमाले सांसदले अवरोध गरेका थिए । (बाह्रखरी)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*