बालुवाटार बैठकः प्रचण्डलाई कोशीका सभामुखले भने– राजीनामा दिन्न

बकैया दर्पण संवाददाता
१५ श्रावण २०८०, सोमबार १२:१४

मकवानपुर । कोशी प्रदेशमा नयाँ सरकार निर्माणलाई लिएर रस्साकस्सी चलिरहेका बेला सभामुख बाबुराम गौतमले पदबाट राजीनामा नदिने अडान कसेका छन् । बालुवाटारमा हिजो सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग भएको बैठकमा उनले राजीनामा नदिने अडान सुनाएको स्रोतले बतायो ।

सत्ता गठबन्धनले माओवादीबाट निर्वाचित गौतमलाई सभामुखबाट राजीनामा गर्न लगाएर सरकार गठनका लागि बहुमत पुर्‍याउने निर्णय लिएको छ ।

उनले यसअघि सभामुखकै हैसियतमा सरकार गठनका लागि हस्ताक्षर गरेका थिए, जसलाई अदालतले खारेज गरिदिएको थियो । सत्ता गठबन्धनलाई एक मत अपुग रहेका बेला गौतम निर्णायक बनेका हुन् ।

हिजो बालुवाटारमा भएको बैठकमा सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरू सहभागी थिए । बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समस्याको निकास दिन गौतमले राजीनामा गर्नुपर्ने सुझाव प्रस्तुत गरे । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने केही पनि भनेनन् । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले के गर्ने त बाबुराम जी ? भनेर सोधेका थिए ।

प्रधानमन्त्रीले सोधेपछि गौतमले आफ्नो राजीनामाले मात्रै कोशी प्रदेशमा स्थायी सरकार बन्न सक्ने अवस्था नरहेको प्रष्ट्याए ।

बैठकमा उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मेरो राजीनामाले मात्रै कोशीमा स्थायी सरकार गठन हुँदैन । म राजीनामा दिने अवस्थामा छैन ।’

उनले यसो भनिरहँदा कोशीका कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री उद्धव थापा र माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्वो समेत सँगै थिए । बैठकमा थापाले पनि गौतमलाई केही नभनेको श्रोतले जनाएको छ ।

सभामुख गौतमले उद्धव थापालाई मुख्यमन्त्री बनाउन आफूले गरेको हस्ताक्षरका विषयमा अदालतले समेत त्रुटि भएको भनेर औँल्याएकाले सरकार गठनमा आफू सहभागी हुन नसक्ने बताएका थिए ।

उनले भने, ‘संविधान र कानुनले सभामुखको भूमिका तटस्थ हुनुपर्छ भनेको छ । अब तटस्थ भएर प्रदेशसभा सञ्चालन गर्ने मेरो विचार छ ।’

माओवादीका प्रदेश सांसद दुर्गाप्रसाद चापागाईँले सरकार गठनका लागि सभामुख गौतमको राजीनामा गराउनु एउटा विकल्प भए पनि यो उचित नभएको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

सभामुख गौतमको राजीनामाले प्रदेशसभालाई थप संवैधानिक सङ्कटतर्फ लैजाने उनको भनाइ छ ।
सत्ता गठबन्धनमै रहेका नेपाली काँग्रेसका सभापति र प्रदेश सभापतिले सभामुखलाई राजीनामा दिन लाउने विषयमा केही नबोलेपनि माओवादीकै एउटा पक्ष भने सभामुखको राजीनामाको पक्षमा छ ।

माओवादीका कोशी प्रदेश सभा सदस्य तथा प्रचण्डका ज्वाइँ जीवन आचार्यले सभामुखले राजीनामा दिएर निकास दिनुपर्ने बताउने गरेका छन् । उनले सभामुखलाई राजीनामा दिन चर्को दबाब दिएको माओवादीका सांसदहरू बताउँछन् ।

कोशी प्रदेशको सरकार गठनका लागि ४७ सिट आवश्यक पर्दछ । राप्रपा सत्ता गठबन्धनका नगएको अवस्थामा सत्ता गठबन्धनको सरकार बन्ने सम्भावना देखिन्न । यसअघि असार २१ गते सभामुख बाबुराम गौतमको हस्ताक्षर सहितलाई गनेर प्रदेश प्रमुखले नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

अदालतले सभामुखको गणना गर्नु असंवैधानिक भएको भन्दै नियुक्ति बदर गरेको छ । नियुक्ति बदर गरेसँगै साउन १६ गते ५ बजे सम्ममा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुख परशुराम खापुङले दलहरूलाई आव्हान गरेका छन् । उनको आव्हानको समय एक दिन बाँकी रहँदा पनि सरकार गठनका लागि बहुमत कतै पनि पुग्न सकेको छैन । (नपालप्रेस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*