नारायणगढ–मुग्लिन सडक खण्डसहित आठ वटा सडक पहिरोका कारण बन्द

बकैया दर्पण संवाददाता
९ श्रावण २०८०, मंगलवार ११:२५

मकवानपुर । मुग्लिन सडक खण्डको कालीखोलामा पहिरो खस्दा सडक बन्द भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा रहेको कालीखोलामा बिहान पहिरो खसेको हो ।

बाटोमा पहिरो थुप्रिएको कारण सडक खण्ड भएर चल्ने गाडी दुईतर्फी नै रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।

पहिरो पन्छाउने काम भैरहेको तर निरन्तर पानी परिरहेकाले समस्या भएको छ । थप पहिरो खस्न सक्ने जोखिम कायमै रहेकोले पन्छाइसक्न समय लाग्ने प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिनुभयो । सडक विभागका अनुसार अहिले देशभरका अरु ७ वटा सडक बन्द छन् ।

तमोर करिडोरको पाँचथरमा चतरा–मूलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक सडक बन्द छ । त्यस्तै, भालुवाङ–लिवाङ–रोल्पा–माडीचौर दारबोटको प्युठान खण्ड पनि अवरुद्ध रहेको छ । यस्तै, बुटवल–पाल्पा, राम्दी–रामपुर, गोरुसिङ्गे–सन्धिखर्क सडक अवरुद्ध भएको सडक विभागले जनाएको छ ।

गुल्मीको कालीगण्डकी करिडोर र रुद्रवेणी–वामीटक्सार सडक पनि बन्द भएको छ । रुद्रवेणी–वामीटक्सार सडक खण्ड अन्तर्गत सत्यवती गाउँपालिका–६ को डहरेमा खोलाको बहाव बढेपछि गएरातिदेखि यो सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

त्यस्तै, पहिरो खसेर कालीगण्डकी करिडोर सडक पनि बन्द छ । यो सडक खण्ड अन्तर्गत कालीगण्डकी गाउँपालिकाको हर्मिचौर र अर्बेनीको बीच भागमा सडक माथिबाट ठूला चट्टानसहित पहिरो खसेको छ । कालीगण्डकी गाउँपालिका अध्यक्ष वेदबहादुर थापाका अनुसार सडक खुलाउन स्थानीय बासिन्दाले प्रयास गरे पनि लगातार परेको पानीले समस्या भएको छ ।

अत्यावश्यक कामबाहेक यात्रामा ननिस्कन र लामो तथा छोटो दूरीको यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन गुल्मीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले आग्रह गर्नुभएको छ । वर्षाका कारण धेरैजसो ग्रामीण सडक पनि बन्द भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*