बकैया–५ मा ११ घरपरिवारलाई लालपुर्जा बितरण

कार्यक्रमको तामझाम धेरै उपलब्धी कम
बकैया दर्पण संवाददाता
६ श्रावण २०८०, शनिबार १४:४२

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाले शनिबार निकै तामझामका साथ एक कार्यक्रमको आयोजना गर्दै लालपुर्जा बितरण गरेको छ ।

बकैया–५ को वडा कार्यालयमा बागमति प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बकैया–५ का शुक्र बहादुर बुलुन, निरमाया भुलुन, फुलमाया भुलुन, सुवास कुमार बिक, शुसिला बिश्वकर्मा, बाबुलाल थिङ, कमल बहादुर थिङ,कान्छीमाया पुलामी, हस्त बहादुर थिङ, लक्ष्मण थापा र विनोद वाइवालगायत ११ घरपरिवारलाई लालपुर्जा हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बागमति प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राम्रो काम गर्दागर्दै पनि प्रतिपक्षहरूले सरकारको बिरोध गरिरहेको आरोप लगाउनुभयो । उहाँले सरकारले १०० किलो सुन समातेकोमा एमालेनिकट युवा सङ्घले बिरोध गरेकोमा आपत्तिसमेत जनाउनुभयो ।

कार्यक्रममा मकवानपुर १ का प्रतिनिधि सभा सदस्य दीपक बहादुर सिंह, बागमति प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रदेश सभा सदस्यहरू प्रेम बहादुर पुलामी, एकलाल श्रेष्ठ र लक्ष्मी श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, बागमति गाउँपालिकाका अध्यक्ष सर्केस घलान, प्रमुख जिल्ला अधिकारी सूर्यपूसाद सेढाई, बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीलगायतको आतिथ्यतामा कार्यक्रम भएको हो ।

बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रम निकै तामझामका साथ गरिए पनि बकैया गाउँपालिका वडा नम्बर ५ का जम्मा ११ घरपरिवारले मात्रै लालपुर्जा पाएका छन् । ठुलो क्षेत्र ऐलानी भूमि रहेको बकैया गाउँपालिकाले कृषि क्षेत्रको प्रबद्र्धनमा जोड दिदै गर्दा धेरैले लालपुर्जा पाउने आशा गरेकामा त्यो आशा निरासामा परिणत भएको स्थानियहरूको बुझाई रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*