दुई विधेयक बागमती प्रदेश प्रमुखद्वारा प्रमाणीकरण

बकैया दर्पण संवाददाता
१ श्रावण २०८०, सोमबार ११:२९

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुई विधेयक प्रमाणीकरण गरेका छन्। बागमती प्रदेशसभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन्।

साथै उनले आव ०८०/८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए। दुवै विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख शर्माले प्रमाणीकरण गरेका हुन्।

बागमती प्रदेश सभाको असार २१ गते बसेको बैठकबाट उक्त दुवै विधेयक पारित भएको थियो । दुबै विधेयक प्रमाणीकरण भएसँगै प्रदेश राजपत्रमा प्रकाशित भएपछि प्रदेश सरकारलाई खर्च गर्ने बाटो खुल्ने छ । प्रदेश सरकारले असार १ गते आगामी आवका लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपियाँको बजेट प्रदेश सभामा पेश गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*