अपराह्न ४ बजे समाजवादी मोर्चाको बैठक बस्ने

बकैया दर्पण संवाददाता
२७ असार २०८०, बुधबार १२:०१

मकवानपुर । समाजवादी मोर्चाको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो ।

बैठकमा मोर्चाले सातै प्रदेशमा गर्न लागेको कार्यक्रमको तयारी र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने नेताहरुले बताएका छन् ।

असार २३ मा बसेको मोर्चाको पहिलो बैठकले मोर्चाको उद्देश्य र आवश्यकताबारे जानकारी गराउन सातै प्रदेशमा कार्यक्रम गर्ने निर्णय गरेको थियो । साउन पहिलो हप्तादेखि सातै प्रदेशमा मोर्चाको औचित्यबारे जानकारी गराउने गरी कार्यक्रम गर्ने तयारी छ ।

मोर्चाले यसअघि मोर्चाको कार्यदिशा तय गर्न कार्यदलसमेत गठन गरेको थियो । माओवादी केन्द्रका देव गुरुङ, एकीकृत समाजवादीका प्रमेश हमाल, जसपाका राजेन्द्र श्रेष्ठ र नेकपाका खड्कबहादुर विश्वकर्मा सहितको कार्यदलले तयार पारेको प्रस्तावमाथि पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।

मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी छन् । यी पार्टीका शीर्ष नेताहरुले यही असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*